बजारवासीले नै सन्धिखर्क बजार दुर्गन्धित बनाए, चुत्रावेशीवासीले खोलामा ट्वाईलेटको नाली र ढल मिसाए (तस्बिर सहित)

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले भन्दै थिए घर भित्र मात्रै सफा गरेर हुँदैन सिंगो बस्ती नै सफा गर्नुपर्छ । सिंगो टोलवस्तीको दुर्गन्धले रोगी बनाउछ । उनको सन्देश भुईमा खस्न नपाउदै चुत्रावेशी बजारको घरको झयालबाट हेरिरहेकी एक महिलाले भनिन, खोलामा फोहोर त हामिले नै फालेका हौ तर अब छुन घिन लाग्छ । नगरपालिकाको आयोजनामा वागीखोलामा गरिएको सरसफाई अभियानमा चुत्रावेशीका बजारवासीले खोलामा ट्वाईलेटको नाली र ढल मिसाएको भेटियो । 

 



 

दुई दिनदेखी माईकिङ गरेर प्रचार गरिएपनि बजारवासी थोरै संख्यामा उपस्थित भए । सन्धिखर्क चुत्रावेशी बजार दुर्गन्धित छ । बजारवासीले घरमा जम्मा भएको फोहोर खोलामा फालेकै कारण बजार दुर्गन्धित हुन पुगेको सापकोटाले बताए । सफा र सुन्दर सदरमुकाम बनाउन नगरपालिकाले कडाई गर्ने उनले बताए । चुत्रावेशीको मोटरेवल पुल देखी वागी र भद्री खोलामा घरबाटै फयाकिएको प्लाष्टिक, बोरा, सडेगलेका खानेकुरा, मासुका हड्डी, मदिराका बोतल, कपडा भेटिए । ‘तपाईले फालेको फोहोर हामीले मात्रै उठाएर बजार सफा हुँदैन’, बजारवासीलाई स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले भने, ‘आफनो घरको फोहोर जथाभावी फाल्नु हुदैन ।’ अर्घाखाँची हस्पिटल प्रा.लि. अगाडी मेडिकलमा प्रयोग गरिएका सिसा बोतल लगायतका सामग्री खोलामा भेटिए । 

 



 

सन्धिखर्क-चुत्रावेशी बजार सुधार समितिले सातामा एक पटक ट्याक्टर घर-घरसम्म पुर्याइदिएपनि बजारवासीले जथाभावी नै फोहोर गरेकाले दुर्गन्ध फैलिदै गएको छ । ‘साच्चै बजारलाई सफा राख्ने हो भने नियम कडा बनाउनुपर्छ, सरसफाईमा संलग्न अर्घाखाँची युवा परिषदका कोषाध्यक्ष रुद्र श्रेष्ठले भने, ‘जसले फोहोर फाल्छ जुन घरको अगाडी फोहोर देखिन्छ त्यो व्यक्तिलाई प्रहरीले थुन्नुपर्छ र मोटो रकम जरिवाना गर्नुपर्छ ।’ धेरै पटक अभियान सञ्चालन भए तर सफा गरेको केही दिनमै उस्तै फोहोर हुने उनले बताए । होटलवालाले सबैभन्दा धेरै दुर्गन्ध फैलाए । फोहोरलाई नालीमा फ्याके । वातावरण प्रदुषित भयो । चुत्रावेशीमा ट्वाईलेटको दिसा पिसाब सिधै पाईपबाट खोलामा बगाईएको छ । रागाको मासु, हड्डी, भुडी र फोहोर खोलामा फ्याकिएको छ । करिब दुई सय जनाको संख्यामा रहेको कर्मचारी, संघसस्थाका प्रतिनिधि, दलका नेता र केही व्यापारीले वागी खोलाको फोहोर पुर्ण रुपमा उठाउन सकेनन् ।

 



 

चुत्रावेशीका व्यापारी रामहरि भुसालले नगरपालिकाले जबसम्म कारवाही गर्दैन तबसम्म बजार फोहोर भैरहने बताए । चेतनाको अभाव छ । बजारमा पैसा, पहुचवाला बस्छन कसले कसलाई टेर्नु नीतिगत रुपमा कडा नियम बनाएर लागु गर्नुपर्ने उनले बताए । खोलाको पानी सफा छैन । सधै धमिलो हुन्छ । स्थानीय विकास मन्त्रालयका उप-सचिव चक्रपाणी शर्माले खोलामा फाकिएको प्लाष्टिकले माटोलाई समेत असर गर्ने बताए । ‘पद पैसा, महल भन्दा ठुलो आफनो स्वास्थ्य हो, उनले भने, ‘जथाभावी फयाकिएको फोहोर दुर्गन्धित भएपछि क्यान्सर लाग्छ ।’ सरकारले देशभर प्लाष्टिकका झोला प्रयोग गर्नमा प्रतिवन्ध लगाउने तयारी गरेको उनले बताए । बजारमा सामान किन्न जाँदा कपडाको झोला बोक्नु राम्रो हुने उनले बताए । 

 


अन्य समाचारहरु