काठमाडौं – तीन महिनाभित्र स्ववियू निर्वाचन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर जवराको इजलासले विगत ६ वर्षदेखि स्ववियू निर्वाचन हुन नसकेको भन्दै तीन महिनाभित्र स्ववियू निर्वाचन गराउन सरकार र त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको हो।
२०७१ जेठमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू (छैटौं) का विमलप्रसाद पोखरेलले सर्वोच्चमा दायर गरेको रिटको फैशलामा सर्वोच्चले यस्तो आदेश दिएको हो। पटक पटक निर्वाचन गराउने तयारी गरेर पनि सफल नभएको त्रिभुवन विश्वविद्यालयले सर्वोच्चको आदेशपछि तीन महिनाभित्र स्ववियू निर्वाचन गराउन बाध्यकारी भएको छ।
देशभरका त्रिविका आंगीक क्याम्पसहरुमा ६ वर्ष यता विद्यार्थी यूनियनको चुनाव हुन सकेको छैन।विद्यार्थी संगठनले पटकपटक यूनियनको चुनाव माग गरेपनि हुन सकेको थिएन। त्रिविले गत जेठमा घोषणा गरेको निर्वाचन समेत स्थगीत गरेको थियो। त्यसपछि अनिश्चितकालका लागि निर्वाचन रोकिएको थियो। स्ववियु निर्वाचन प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने त्रिवि ऐनमा प्रावधान छ।कुनै कारणबस चुनाव हुन नसके थप २ वर्ष पहिलेकै निर्वाचित पदाधिकारीले काम गर्न पाउने व्यवस्था समेत छ। नागरिकन्युजमा समाचार छ ।