जाजरकोटमा २५ जनाको मृत्यु भइसकेपछि प्रकोप नियन्त्रण र बिरामीको उपचारका लागि सरकारी सक्रियता बढ्यो

जाजरकोट  । जाजरकोटमा २५ जनाको मृत्यु भइसकेपछि प्रकोप नियन्त्रण र बिरामीको उपचारका लागि सरकारी सक्रियता बढाइएको छ ।
प्रभावित क्षेत्रमा सोमबार र मंगलबार गरी पर्याप्त स्वास्थकर्मीको टोली र औषधि पठाइएको छ । काठमाडौंबाट गएका टोलीले प्रभावित क्षेत्रहरुमा छुट्टछुट्टै शिविर सन्चालन गरेका छन् ।
काठमाडौंबाट गएका चिकित्सकहरुको टोलीले पइक, कालिका, डालेगाउँ, बझारु, अर्छानी र दिमेमा बिरामीको उपचार गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका डा.गुणनिधि लोहनी र नेपाली सेनाका डा.अनिल डंगोलले सदरमुकाममा बसेर स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतका अनुसार गाउँ-गाउँ पुगेको टोलीले उपचार, औषधि वितरणसहित चेतनामूलक अभियान गरिरहेका छन् । जिल्लामा एक मेडिकल सुपरिटेन्डेट, ६ डाक्टर, ३८ स्वास्थ्य सहायक, ६२ अहेव, ७३ अनमी, ४ जना स्टाफ नर्सको दरबन्दी छ ।
तर, तीमध्ये मेडिकल सुपरिटेन्डेट ३ जना र १६ जना स्वास्थ्य सहायकको दरबन्दी भने अझै रिक्त छ ।
उता, नेपालगन्ज हुँदै मंगलबार जाजरकोट पुगेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले अवस्था हेरेर उपचार सुरु गर्ने बताएका छन् ।
प्रभावित गाविसहरुमा रोगको अवस्थाबारे जानकारी लिएपछि मात्रै उपचार सुरु गर्ने जानकारी उनले दिए ।
आफ्ना केही सहयोगीसहित व्यक्तिगत खर्चमा नेपालगन्जबाट स्थलमार्ग हुँदै डा.केसी सोमबार त्यसतर्फ लागेका थिए । इमेजखबरमा समाचार छ ।