धादिङको नौविसे दुर्घटनामा मृत्यु हुनेको भारतीय तीर्थयात्रीको संख्या १७

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउँ विकास समिति वडा नम्बर ५ झयाप्ले खोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
जी जे १४ एक्स ९९०० नम्बरको बस दुर्घटना हुँदा अरु २८ जना घाइते भएका छन् । १४ जनाको घट्नास्थलमै र तीन जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
ढुंगेअड्डास्थित ओम समाज, कलंकीको मनमोहन र शिवज्योती अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बल निलवाराही गणका एसपी काजीदास धौबजी श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा नेपालस्थित भारतीय दूतावासका पदाधिकारीहरु पनि पुगेका छन् ।
मृत्यु हुनेमा देवकी भाई सत्यारा, गणेश भाई सत्यारा, देगाराम भाई सत्यारा, नरसी भाई सत्यारा, गंगाराम भाई सत्यारा र गनपथ भाई सत्यारा रहेका छन् । यस्तै, जसविन सत्यारा, लिलाविन सत्यारा, गौरीदेव जीवन, गौरी विन, कञ्चन विन रहेका छन् । अरु मृतकको भने पहिचान हुन बाँकी छ ।
हनुमान ढोका काठमाडौंबाट समेत प्रहरी टोली घटनास्थलमा खटिएको छ । घाइतेको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस ओरालो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । विहानै काठमाडौंको तिलगंगास्थित सत्यसाई धर्मशालाबाट छुटेको बसमा चालक दलसहित ४५ जना थिए ।
बस चालक पनि घाइते भएका छन् । बस रुखमा झुण्डिएको छ । उद्धार जारी छ । मृतकका सनाखत भएपछि शव भारतीय दूतावासलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
सुनौलीबाट काठमाडौं आएका ८० जना तीर्थयात्री हिजो सो धर्मशालामा बसेका थिए ।
उनीहरु अलग अलग दुई वटा बसमा छुटेका थिए, त्यसमध्येकै एक बस दुर्घटनामा परेको हो । यसबीच दुर्घटनामा परेको बसका यात्रुको सरसामान चोर्न जाने तीन स्थानीयलाई प्रहरीले पक्रेको छ । इमेजखबरमा समाचार छ ।