काठमाडौं । रोग नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लामा मानिसहरू भेला हुने, सार्वजनिक समारोह, विवाह तथा ब्रतबन्धमा समेत रोक लगाएको छ ।
स्वाइन फ्लु र मौसमी फ्लुका कारण सर्वसाधारणको मृत्यु र बिरामीको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लाका सबै सरकारी कार्यालय, संघ-संस्थालाई पत्राचार गरी तत्काल सबैखाले बैठक, सभा, सम्मेलन रोक्न भनेको छ ।
यस्तै सर्वसाधारणलाई पनि रोग नियन्त्रणमा नआएसम्म विवाह, ब्रतबन्ध जस्ता कर्म पनि नगर्न भनिएको छ ।
यसअघि, जाजरकोटका सबै विद्यालयमा पठनपाठन बन्द गरिएको थियो । जाजरकोटमा मौसमी रुघाखोकी र ज्वरोका कारण २७ जनाको मृत्यु भैसकेको छ भने सैयौं बिरामी परेका छन् ।
प्रभावित क्षेत्रमा पर्याप्त स्वास्थकर्मीको टोली र औषधि परिचालित हुन थाले पनि परिणाम भने देखिएको छैन । इमेजखबरमा समाचार छ ।