काठमाडौं – कर्तव्य ज्यान मुद्दामा सर्वोच्चद्वारा सर्वस्व सहित जन्मकैद सजाय ठहर भइ फरार रहेका एमाओवादीका पूर्व सभासद् बालकृष्ण ढुङगेल उज्जनका दाई गणेश श्रेष्ठको हत्या मुद्दामा पनि तानिएका छन्।
सरकारले द्वन्द्वकालीन सम्पूर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोगमार्फत् समाधान गर्ने भन्दै आएको भए पनि पूनरावेदन अदालत जनकपुरले मंगलवार श्रेष्ठको हत्या प्रकरणमा तत्काल अनुसन्धान थाल्न आदेश दिएपछि दोस्रो मुद्दा अघि बढ्ने भएको हो।
प्रहरीमा हत्याको किटानी जाहेरी दिएको भन्दै हत्या गरिएका गणेशका छोरा विजयले दायर गरेको रिटमा पुनरावेदन अदालतले फैसला गर्दै तत्काल अनुसन्धान अघि बढाउन भनेको हो।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मेघराज भट्टराईको संयुक्त इजलाशले हत्या जस्तो मुद्दामा अनुसन्धान रोक्न नमिल्ने भन्दै ६ महिनाभित्र यसको टुङ्गो लगाउन परमादेश जारी गरेको हो।
विजयले फागुन ६ गते आफ्ना पिताको हत्याराहरुको सम्बन्धमा हालसम्म किन अनुसन्धान नभएको हो जान्न पाउनु पर्ने माग गर्दे रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाई गर्दै पूनरावेदन अदालत जनकपुरले १५ दिनभित्र यससम्बन्धी सम्पूर्ण विवरण उपलव्ध गराउन जिल्ला प्रहरी कार्यालय रामेछाप र सरकारी बकिलको कार्यालयको नाममा फागुन ११ गते कारण देखाउ आदेश जारी गरेको थियो। किटानी जाहेरी दिएको १० वर्षसम्म दोषी पक्राउ नगर्नाले न्याय प्राप्त नभएको विजयको रिटमा जिकीर गरिएको थियो। नागरिकन्युजमा समाचार छ ।