बुटवल । राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सूचना व्यक्तिसंग केन्द्रित रहेकाले सूचनाको हक कार्यान्वयनमा समस्या आएको बताएकी छन् । व्यक्तिमा केन्द्रित रहेको सूचनालाई विकेन्द्रित गरेर जनतासम्म पु-याउन सकेमात्रै सूचनाको हक पूर्णरुपमा कार्यान्वयन भएको मान्न सकिने उनको भनाई छ ।
राष्ट्रिय सूचना आयोग र क्रियाशिल पत्रकार महिला रुपन्देहीको आयोजनामा बुटवलमा भएको सूचनाको हक कार्यान्वयन सम्बन्धी अन्तक्र्रिया एवं सम्मान कार्यक्रममा बोल्दै आयुक्त तिम्सिनाले यस्तो बताएकी हुन् । उनले मुलुकका १० प्रतिशत जनता पनि सूचनाको हकबारे जानकार नरहेको उल्लेख गर्दै केन्द्रबाटै सूचना लुकाउन सिकाइएको बताईन् । नागरिक समाज, मिडिया र संघसंस्थाले साथ दिए सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जिल्लाका ४० वटा कार्यालयमा मात्र सूचना अधिकारीको व्यवस्था रहेको जानकारी दिंदै स्रोत, साधनको अभावले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन हुन नसकेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले नागरिकलाई सूचना दिनुपर्छ भन्ने मानसिकताको विकास नभएसम्म सूचनाको हक सम्बन्धी ऐन व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताए । त्यस अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य एवं रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दिरा अर्यालले सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयनका लागि स्थानीय तहसम्म जागरण ल्याउन स्थानीय मिडियालाई प्रयोग गर्नुपर्ने सुझाव दिईन् ।
क्रियाशिल पत्रकार महिला रुपन्देहीका अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष बालकृष्ण चापागाई, बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख विष्णु खनाल, बुटवल नगर विकास समितिका संयोजक खेलराज पाण्डे, गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलम, लुम्बिनी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठ, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, डव्लु डव्लु जे का उपाध्यक्ष्ँ कल्पना तिवारी लगायतले आआफ्नो धारणा राखेका थिए । पत्रकार कुवंरलाई संघर्षशिल पत्रकार महिला सम्मान सेतोपाटि बुटवल, बैशाख १० संघर्षशिल पत्रकार महिला सम्मान २०७१ बाट पत्रकार कमला कुवंरलाई सम्मानित गरिएको छ । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले गतवर्ष स्थापना गरेको १५ हजार राशीको उक्त सम्मानबाट पहिलो वर्ष नै पत्रकार कुवंर सम्मानित हुनुभएको हो ।
डब्लु डब्लु जे रुपन्देहीले विहीबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथी एवं राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले पुरस्कार तथा सम्मान पत्रद्धारा सम्मान गरेकी हुन् । २०५३ सालमा बुटवलको दैनिक लुम्बिनीबाट संघर्षपूर्ण रुपमा पत्रकारितामा प्रवेश गरेकी पत्रकार कुवंरले विगत ७ वर्षदेखि अस्वस्थताको कारण पत्रकारितालाई निरन्तरता दिन सकेकी छैनन् । गुल्मीको हर्दिनेटामा जन्मिएकी कुवंरले सक्रिय पत्रकारिताको अवधीमा दैनिक लुम्बिनी, जनसंघर्ष दैनिक, मेचिकाली दैनिक र बुटवल टुडेमा २०६५ सालसम्म निरन्तर सक्रिय पत्रकारिता गर्दै आएकी थिईन् । पत्रकार कुवंर यसअघि सूचना तथा प्रकाश स्मृती विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भईसकेकी छन् ।
डब्लु डब्लु जे रुपन्देहीले लामो समयसम्म पत्रकारितामा सक्रिय पत्रकार महिलालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने उद्देश्यले उक्त पुरस्कार कोष स्थापना गरेको जनाएको छ । संस्थाका अध्यक्ष भगवती पाण्डेले हाल लुम्बिनी अञ्चललाई केन्द्रित गरी स्थापना गरिएको उक्त कोषको राशी वृद्धि गरी क्षेत्रिय स्तरको बनाउने र पुरस्कारको राशीपनि वृद्धि गर्दै लैजाने लक्ष्य रहेको बताईन् ।
Birendra KC contributed to this report.