पोखरा । देशभरका सरकारी विद्यालयहरुमा विद्यार्थीको अभाव खड्किरहेका बेला कास्कीको एक सरकारी विद्यालयमा भने विद्यार्र्थीको भीड थामिनसक्नु भएको छ ।
सरकारी बजेटको धेरै प्रतिशत खर्च भइरहेको सरकारी विद्यालयको स्तर खस्किएको भनिएकै बेला लेखनाथ नगरपालिका वडा नम्बर-१७ भरतपोखरीको सरस्वती टीका उच्च माविमा पढ्नका लागि निजी विद्यालय छाडेर थुप्रै विद्यार्थीहरु लालायित भएका छन् ।
यस शैक्षिकसत्रमा १ सय ७२ जना नयाँ विद्यार्थीहरु भर्नाका लागि आएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । निजी विद्यालयले दिने शिक्षाको गुणस्तर सरस्वती माविले पनि दिन सुरु गरेपछि विद्यार्थीहरुको भर्ना दर एकाएक बढ्न थालेको बरालले बताए ।
निजी स्रोतबाट ५ जना शिक्षकलाई अध्यापनका लागि नियुक्त गरी कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थीको आकर्षण बढेको अभिभावक पार्वती थापाले बताइन् ।
आगामी वर्षदेखि ९ र १० मासमेत अंग्रेजी माध्यममा कक्षा सन्चालन गरी स्तरीय शिक्षा उपलब्ध गराउने योजना विद्यालयको रहेको छ । निजी विद्यालयमा चर्को शुल्क तिर्नुपर्ने अवस्थामा सरकारी स्कुलमै सहुलियत शुल्कमा बालबालिकाले गुणस्तरीय शिक्षा पाउने भन्दै अभिभावकहरु पनि दंग परेका छन् । – इमेजखबरमा समाचार छ ।