काठमाडौं । २०६२/२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज (शुक्रबार) ९ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्र्थापनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र हिंसात्मक आन्दोलनमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।
जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन वैशाख ११ को ऐतिहासिक महत्व छ । २५ जना नेपालीले जनआन्लोलन सफल पार्नेक्रममा जीवन बलिदान गरेका थिए भने थुप्रै घाइते भए ।
जनआन्दोलनको सफलताको जगमै विस्तृत शान्ति सम्झौता भइ शान्ति प्रक्रिया आरम्भ भएको थियो भने संविधानसभाको निर्वाचनसमेत भएको थियो ।
तर, दुईपटक संविधानसभाको निर्वाचन सम्पन्न हुँदासमेत जनताले नयाँ संविधान पाउन सकेका छैनन् । नयाँ संविधान जारी नहुँदा जनआन्दोलनको उपलब्धि संस्थागत हुन सकेको छैन । इमेजखबरमा समाचार छ ।