सरकारले शनिबार गएको महाभुकम्पका धक्काहरु बारम्बार आइरहेको भन्दै भोलि दिउसो तीन बजेसम्म ‘अलर्ट’ रहन आग्रह गरेको छ।
प्रधानमन्त्री सुशील कोइराला थाइल्यान्डबाट फर्केलगत्तै बसेको मन्त्रीपरिषद बैठकले पुनः भुकम्प आउने हल्लाका पछि नलागी सचेत भएर बस्न आग्रह गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए।
एक साताअघि उपचारका लागि थाइल्यान्ड गएका प्रधानमन्त्री सुशील कोइराला आइतबार बिहान ११ः५५ बजे त्रिभुवन विमानस्थल उत्रेका थिए।
‘नयाँ भुकम्प आएको होइन, हिजोकै भुकम्पको धक्का आइरहेको हो’, मन्त्री रिजालले भने, ‘फेरि भुकम्प आउँछ भन्ने कुरा पनि सत्य होइन, भोलि तीन बजेसम्म अलर्ट रहन जरुरी छ।’
अस्पताल, मेडिकल बन्द गर्न नपाइने
महाविपत्तिका बेला कसैले अस्पताल, मेडिकल तथा औषधि पसल बन्द गरेमा सरकारले हस्तक्षेप गर्ने भएको छ। ‘कसैले बन्द गरेमा सरकारले नै खुलाएर चलाउने छ’, मन्त्रीपरिषद बैठकपछि मन्त्री रिजालले भने।
सरकारले आवश्यक भन्दा बढि सरकारी कर्मचारीलाई बिदा दिने भएको छ।
सरकारले उद्दार तथा राहतका कामलाई प्रभावकारी बनाउन मन्त्रीहरुको कार्यविभाजन गरेको छ। विदेशी निकायसँगको समन्वयको जिम्मा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सुरक्षको जिम्मा वन मन्त्री महेश आचार्य र आर्थिक सहयोग तथा फन्ड परिचालनको जिम्मा अर्थमन्त्री डा. रामशरण महतलाई दिइएको छ।
सरकारका प्राथमिकता
सरकारले उद्दार र राहतसँगै औषधि, पानी र ड्राइफुडलाई पहिलो प्राथमिकतामा राखेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले बताए।
यस्तै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन कुनै कसर बाँकी नराख्ने सरकारले निर्णय गरेको छ।
सरकारले भुकम्पमा ज्यान गुमाउनेहरुलाई जलाउने भएको छ।