महाभूकम्पबाट सबैभन्दा बढी मृत्यु – क्षति भएको सिन्धुपाल्चोकमा उद्धार गर्ने कोही भएन, ९५ प्रतिशत घर ध्वस्त

सिन्धुपाल्चोक । शनिबार गएको महाभूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा अझै उद्धार र राहत पुग्न सकेको छैन । महाभूकम्पले सिन्धुपाल्चोकका प्रायः सबै घरमा क्षति पुर्याएको छ ।

Collapsed houses are seen in a village following Saturday's earthquake in Sindhupalchowk

Photo: REUTERS



भूकम्पमा परी सिन्धुपाल्चोकमा मात्र १ हजार ३ सयभन्दा बढीको मृत्य भएको वताइएको छ । यद्धपी हालसम्म १ हजार १ सय ७६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।



विकट क्षेत्रमा धेरै घर छरिएर रहेको र गाउँकै अधिकांश स्थानीयको मृत्यु भएकाले उद्धारमा समेत कठिनाई भएकोे छ । गाउँका ९५ प्रतिशत घर ध्वस्त भएका छन् । बाँकी घर पनि बस्न नहुने अवस्थामा रहेको खिचापोखरीका स्थानीय रामगोपाल श्रेष्ठले जानकारी दिए ।



सिन्धुपाल्चोकका सीमा क्षेत्रका गाउँहरु फुलपिडकट्टी, तातोपानी, लिस्ती, गाती, मार्मिन, घुमथाङको अवस्था भने अझै यकिन भएको छैन । भोताङ, बासखर्क, गुन्सा, इन्चोक, गोल्चे, गुम्बा, पाङताङ लगायत गाउँको मानवीय क्षति अनुमान गर्न नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



उता, पश्चिमी भेगका गाउँहरुबाट भने हिजोदेखि घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । भूकम्प गएयता जिल्लाभरीका हजारौं सर्वसाधारण खुल्ला आकाशमुनी बसिरहेका छन् ।



उता, महाभूकम्पपछि तातोपानी क्षेत्रमा लगातार पहिरो गईरहेको छ । खोल्साखाल्सी बढेपछि नदीमा  पानीको सतह ह्वात्तै बढेको हो ।



लिस्ती, मार्निन, गाती, घुमथाङ, फुलपिङकट्टीलगायतका स्थानमा पहिरो गएकाले राजमार्ग क्षेत्र अवरुद्ध भएको छ । यता, धादिङको सल्यानवेशी क्षेत्रमा पनि सरकारी राहत पुग्न सकेको छैन । इमेजखबरमा समाचार छ ।