वैशाख १२ को विनाशकारी भूइँचालोपछि दु:खमा परेका नेपालीहरुको सहायतार्थ बेलायतबाट साढे तीन अर्ब रुपैँयाँ बराबरको सहयोग भएको छ।
योसँगै बेलायत नेपालका लागि संसारकै सबैभन्दा सहयोग गर्ने देश बनेको छ। यो बाहेक वेलायती जनताले थप ५ अर्ब ५७ करोड रुपैँया उठाएका छन्।
बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री जस्टिन ग्रीनिनले भनिन्- नेपालमा जीवन बचाउने अत्यावश्यकीय सामाग्रीको देशैभर सहज आपूर्तिको सुनिश्चित गरेर तथा प्रभावितस्थलमा रहेका परोपकारी संस्थाहरुलाई फास्ट ट्रयाक माध्यमबाट पैसा उपलब्ध गराएर बेलायत यो कठिन घडीमा नेपाल र नेपाली जनतासँग उभिएको छ । तर यी महत्वपूर्ण राहत सामाग्री सबै भन्दा बढी खाँचो परेकोले पाएको सुनिश्चित गर्न अझ धेरै काम गर्नु आवश्यक छ।
सरकारी संयन्त्रमार्फत काम गर्ने तथा राहत र विकास कार्यमा पारदर्शिता र जवाफदेहिताका सिद्दान्तसँग सहमत भएर नेपाल सरकार र संयुक्त राष्ट्रसंघ लगायतका प्रमुख साझेदारहरुसगँ नजिकमा रहेर बेलायतले काम गरिरहेको नेपालस्थित बेलायती दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साढे तीन अर्बको मानवीय सहायतामा निम्न कुरा सामेल छन्-
# ८२ करोड रुपैयाँ नेपालमा रहेका राष्ट्रसंघीय निकायहरुलाई दिइने छ। यो पैसाको प्रयोग गरेर प्रभावित परिवारकालागि शुद्ध पानी र आश्रय उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय राहत प्रयासको संयोजन गर्ने छन् ।
# ४६ करोड रुपैयाँ तत्काल उद्धार सेवा अन्तर्गत पहिले नै प्रभावित क्षेत्रमा सक्रिय ६ परोपकारी संस्थाहरुलाई जाने छ। ती संस्थाहरुमा सेभ द चिल्ड्रेन, मर्सी कोर स्कटल्याण्ड, केयर इन्टरनेसनल युके, एक्शन एड, अक्स्फ्याम, र ह्याण्डीक्याप इन्टरनेशनल छन्।
# ३१ करोड रुपैयाँ व्रिटिश रेडक्रसलाई जाने छ ।
# ७७ करोड रुपैयाँ डिजास्टर इमर्जेन्सी कमिटीको अपिलमा उठेको सार्वजनिक चन्दाबराबरको रकम बेलायत सरकारले दिने भनिए बमोजिमको छुट्याइएको रकम हो जो प्रभावित क्षेत्रमा रहेका गैरसरकारी संस्थालाई जाने छ ।
# ७७ करोड रुपैयाँको प्याकेज ट्रमाको उपचार गर्ने ३० स्वास्थ्यकर्मीको टोली उपलब्ध गराउन । साथै त्यो पैसा काठमाडौं विमानस्थानको चाप सहज पार्न अनि पानी, स्वास्थ्य र सरसफाइको क्षेत्रका मानवीय सहायता विषेशज्ञहरूको वसारपसारमा सघाउने उपकरण औजारको लागि पनि । डीफिडले ६० भन्दा वढी वेयालती अन्तरराष्ट्रिय खोजी तथा उद्दारकहरु र विषेशज्ञ उद्धारकर्ता कुकुरहरुको टोली खटाएको छ ।
# ३८ करोड रुपैयाँ राष्ट्र संघीय मानवीय हवाई सेवाका लागि । यो पैसाले प्रभावित क्षेत्रमा रहेका संस्थाहरुलाई राहत सामग्री दुर्गम स्थानहरुमा लैजान सक्षम तुल्याउने छ। यो बाहेक डिफिडले बेलायतको शाही हवाई सेवाका तिनवटा चिनुक हेलिकप्टर पनि खटाउदैछ ।
भूइँचालो आएको २४ घन्टा भित्रै यूकेएडले काठमाडौँमै तयारीहालतमा रहेका तारपोलिन पाल आदि सामाग्री भूकम्प पीडित समूदायमा सवैभन्दा पहिलेजस्तो पुगेर उपलब्ध गराएको थियो। प्रभावित क्षेत्रका लाखौ जनता घरवार विहिन भएका कारण बास नै अहिले नेपालमा सबैभन्दा प्रमुख आवश्यकता रहेको अवस्था वेलायतले १३ हजार त्रिपाल लगायतका सामाग्री वितरण गरिसकेको छ । आगामी २ हप्ताभित्र झन्डै २० हजार त्यस्ता सामाग्रीहरु नेपालमा वितरण गरिने छ ।
बेलायती अग्नीशमनकर्ता र स्वास्थ्यकर्मीहरुले काठमाडौंको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुन: संचालनमा ल्याए । सात सय शैय्याको यो अस्पताल भूइँचालोले क्षतिग्रस्त भएर ८० जना बिरामीको मात्र उपचार गर्न सक्ने भएको थियो।
बेलायती सरकारको प्रयासले गर्दा नै नेपाल मेडिकल कलेजमा अहिले १० शल्यक्रिया कक्ष र चारसय सम्म शैय्याहरू बिरामीका लागि उपलव्ध छन् । आउँदा दुईतीन सातामै थप तीन सयदेखि चार सय शैय्या उपलव्ध हुने छन्।
डिफिड नेपालकी प्रमुख डा. गेल मार्जेटीले अस्पताल परिसरबाटै भनिन्- डिफिडले भर्खरै नेपाल मेडिकल कलेजका निर्देशकसँग एउटा सम्झौता गरेको छ जस अन्तर्गत त्यो हस्पिटलमा भूइँचालोबाट प्रभावित बिरामी वा घाइतेहरुले निःशुल्क स्वास्थ्य सेवा पाउँने छन् । नेपाल मेडिकल कलेज अहिले पूर्णरुपमा चालु छ र सामान्य अवस्थामा भन्दा धेरै बिरामीहरुको निःशुल्क उपचार गरेर निकै राम्रो काम गरिरहेको छ ।
बेलायती राहत प्रयासकै एक भाग अन्तर्गत बेलायती चिनुक हेलिकप्टरहरु काठमाडौ आउने क्रममा बाटोमा छन् । हेलिकप्टरहरु नहुँदा पहाडी क्षेत्रमा अप्ठ्यारो भएको छ । सहजै पुग्न नसकिने देशमा उच्च भेगमा महत्वपूर्ण राहत सामग्री पुर्याउन यी आधुनिक हेलिकप्टरहरु सक्षम हुने छन्।
भूकम्पको केन्द्रबिन्दू नजिकैका हिमाली भेगमा आश्रय, खाना, बिउबिजन, सफाइ र पानी शुद्धिकरणका अत्यावश्यक सामान बर्खालाग्नु अगावै सकेसम्म छिटो पुर्याउन नेपाल सरकार र अन्य साझेदारहरुलाई यी हेलिकप्टरले निकै सहयोग गर्ने छन्। सेतोपाटीमा समाचार छ ।