सन्धिखर्क ।
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । मङ्गलबार दिउँसो गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट अर्घाखाँची जिल्लामा दुई जना घाइते भएका छन् । दिउँसो १२ः५० बजे गएको भुकम्प बाट बँच्नको निम्ति भाग दौड गर्दा चन्द्र प्रभा उ.मा.वि डिहीडाँडा- खाँचीकोट कक्षा १ मा पढ्ने रिवाज शाहको टाउकोमा चोट लागेको छ भने युवा वर्ष रवि चित्र उ.मा.वि. हटारी नेटामा कक्षा ६ मा पढ्ने एलिशा खड्काको हात मर्किएको विद्यालयका शिक्षक टानबहादुर खत्रीले बताउनु भयो ।
यसैगरी भुकम्पले जिल्लाका सयौं व्यक्तिका घर सरकारी भवन तथा विद्यालय भवन समेत चर्किएका छन् । भुकम्पबाट जिल्ला भु.संरक्षणको कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, युवा वर्ष रवि चित्र उ.मा.वि .हटारी नेटा, चन्द्र प्रभा उ.मा.वि. खाँचीकोट लगायत ग्रामिण क्षेत्रका सयौं घरहरु चर्किएको स्थानीय बासिन्दाले जनाएका छन् । आजको भुकम्पबाट एमाओवादी नेता गोविन्द के.सी.प्रकास ले बाँगी गा.वि.स. भण्डारमा रहेको आफ्नो ढुङ्गाले छाएको २ तले घर भत्किएर पूर्ण रुपमा क्षति भएको वताउनु भएको छ ।
विद्यार्थीहरुले विद्यालयमा पढि रहेको समयमा मध्यान्ह एक्कासी भुईचालो गएपछि विद्यार्थिहरुको भाग दौड भएको थियो । घर भित्र बसेका स्थानीय बासिन्दा दौडिंदै घर बाहिर आई खुल्ला ठाउँमा बसेका थिए, भने भुकम्प जाना साथ केहि समय टेलिफोन अवरुद्ध भएपछि छोराछोरीको अवस्था बुझ्न अभिभावकहरु दौडधुप गर्दै विद्यालयमा पुगेका थिए ।
१७ दिन पहिलेको भुकम्पबाट निक्कै त्रसित बनेका स्थानीय बासिन्दाहरु अब भुकम्प जाँदैन भनी ढुक्क भएको समयमा आज गएको भुकम्पले जिल्ला बासी निक्कै आतंकित भएका छन् । भुकम्पले जिल्लामा कुनै पनि मानवीय क्षति नपु-याए पनि स्थानीय बासिन्दाहरु भने निक्कै आतंकित र हतोस्साही देखिएका छन् ।
बेलुका अबेरसम्म पनि भुकम्प बाट तर्सिएका स्थानीय बासिन्दा खालि ठाउँमै बसेको देखिन्थ्यो भने केहि स्थानीय बासिन्दाहरुले रातभर पाल टाँगेर खुल्ला ठाउँमै बस्ने तयारी समेत गरेका छन् ।
जिल्लाका सबै क्षेत्रमा भुकम्पले पु-याएको विवरण आई नसकेको भए पनि जिल्लाको अवस्था बारे जानकारी लिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको र उद्धारका निम्ति जिल्लामा रिर्जव फोर्स समेत तयार गरि राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनु भयो ।
त्रासले अहिले सन्धिखर्क लगायत गाउँ-गाउँमा मानिसहरु घर बाहिर खुला आकाशमा रात बिताएका छन ।