हेटौंडा – भूकम्पका कारण मकवानपुरका १ हजार १ सय भन्दा बढी गर्भवती र सुत्केरी त्रिपाल मुनि रात बिताउन बाध्य छन् । सरकारी तथ्यांक अनुसार ती बाहेक ४ सय भन्दा बढी त्यस्ता महिला घरमा जसोतसो बसिरहेका छन् । कम्पनले घर भत्केर २ वटा नगरपालिका र ३५ गाविसका ८ सय ३० सुत्केरी र ३ सय २० गर्भवतीले त्रिपालमुनि आश्रय लिएर बसेका छन् । घरमा बसेका ७ महिना नाघेका ४ सय गर्भवती विभिन्न समस्याबाट पीडित छन् ।
भुकम्पवाट सवै भन्दा बढी सुत्केरी र गर्भवती पीडित छन्, जिल्ला जनस्वास्थ्यकी बरिष्ठ स्टाफ नर्स यशोदा राजभण्डारीले भनिन्, यहाँका ११ सय भन्दाबढी सुत्केरी र गर्भवती त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनका अनुसार गर्भ रहेको ७ महिना नाघिसकेका ४ सय भन्दा बढी गर्भवती घरमा नै वसेका छन् । उनीहरु भूकम्पबाट प्रभावित भएका छन् । वैशाख १२ गतेदेखि बिहीबारसम्म २२ जनाको गर्भ तुहिएको जानकारीमा आएको छ, उनले भनिन्, १३ गर्भवतीको पेट भित्र शिशुको मृत्यु भएको छ ।’
भूकम्पले गर्दा समय अगावै शिशु जन्माउने बढेका छन् । हेटौंडा अस्पतालमा दैनिक १/२ महिला अगावै सुत्केरी हुन आउने गरेका छन् । भूकम्पपछि अस्पतालमा वुधबारसम्म ५१ सुत्केरी भइसकेका छन् । ती मध्ये ६ को पेटमा शिशुको मृत्यु भएको थियो । भूकम्पका कारण पेट भित्र शिशुको मृत्यु भएको हुनसक्छ’ चिकित्सक रामकाजी महर्जनले भने, भूकम्प आउनुअघि यस्तो अवस्था थिएन, यो झड्काकै असर हो । भागदौड क्रममा गर्भमा चोट पुग्ने गरेको छ । त्यसले आमा र पेटभित्रको शिशुको स्वास्थ्यमा असर पुगेको चिकित्सकको भनाइ छ । केहीको घरको ढुंगा खसेर पेटमा लागेको पाइएको छ । बारीमा पाल टाँगेर बस्नु परेकाले विभिन्न स्वास्थ्य समस्या देखिएका छन् ।
जोखिम मोलेर सुत्केरी
भुकम्पले विटक गाउँका प्रसुति केन्द्र (बर्थिङ सेन्टर) र स्वास्थ्य चौकी क्षतिग्रस्त भएका छन् । त्यसले सुत्केरी गराउन र उपचारमा कठिनाइ भइरहेको छ । स्वास्थ्यकर्मीले त्रिपालमुनि र कुखुराको खोरमा सुत्केरी गराएका छन् । राईगाउँ गाविसस्थित स्वास्थ्य चौकीका अहेव फूलेश्वर पाण्डेले त्रिपाल मुनि राखेर मंगलबार २ लाई सुत्केरी गराएको बताए ।
भुकम्पले राईगाउँको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर क्षतिग्रस्त बनाएको छ । यसैगरी टिष्टुङ गाविसस्थित स्वास्थ्य चौकीका अहेव सागर लामाले ५ जनालाई कुखुराको खोरमा सुत्केरी गराएका छन् ।
त्रिपालमा समस्या
घर भत्केर त्रिपालमा बस्ने सुत्केरीमा समस्या देखिन थालेको छ । टिस्टुङ स्वास्थ्यचौकी प्रमुख अहेव लामाका अनुसार १ वर्षमुनिका डेढ सय सुत्केरी त्रिपालमा छन् । स्वास्थ्य चौकीको रेकर्ड अनुसार गाविसमा ४६ गर्भवती छन् । समुद्र सतहदेखि २ हजार मिटर उचाइमा रहेको टिष्टुङको सिरेटोले उनीहरुलाई सताउन थालेको छ । लामाका अनुसार गाविसमा भूकम्प गएयता २ नवजात शिशुको मृत्यु भइसकेको छ । टिस्टुङ १ की शर्मिला र पूजा स्याङ्तानका शिशुको मृत्यु भएको हो । उनीहरुले भूकम्पका बेला बच्चा जन्माएका थिए । उचित स्याहार नपुगेर मृत्यु भएको स्वास्थ्यकर्मीले जनाए । त्रिपालमा बस्दै आएका अन्य सुत्केरी महिला र नवजात शिशुहरु विभिन्न रोगबाट प्रभावित हुन थालेका छन । उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर भूकम्प गएयता स्वास्थ्य संस्थामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ ।
थाहा नगरपालिकामा २ सय ६५ जना सु्त्केरी र ५५ जना गर्भवती त्रिपालमुनि छन् । भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको नामटारमा ८८ सु्त्केरी र ९ गर्भवतीको त्रिपाल र स्कुल भवनमा बास छ । ईकन्तिपुरमा समाचार छ ।