इराकको रमादी शहर कब्जामा लिएको इस्लामिक अतिवादी समूह आइएसले सिरियाको ऐतिहाँसिक शहर पल्माइरा पनि नियन्त्रणमा लिएको छ ।
सिरियाको ऐतिहासिक र प्राचीन शहरका रुपमा परिचित पल्माइरा कब्जा गर्नुअघि आइएस लडाकु र सुरक्षाकर्मीबीच भीषण संघर्ष भएको थियो ।
आईएस लडाकुको अगाडी निरीह बनेको सिरियाली फौजलाई आईएसले शहर छोड्न बाध्य तुल्याएको थियो ।
युनेस्कोले विश्वको मानचित्रमा सूचीकृत गरेको उक्त शहर कलाकृतिले भरिपूर्ण र प्राचीन भग्नावशेषहरु रहेको शहर हो ।
यसैबीच सिरियाका गृहमन्त्री मोहमद अल शारले ऐतिहासिक शहर पल्माइरा जसरी पनि जोगाउने बताएका छन् ।
आइएसले कब्जा गर्नुअघि नै त्यहाँ रहेका बहुमुल्य बस्तु हटाइसकेको जानकारी दिँदै उनले केही मन्दिर र कलाकृती भने हटाउन नसकेको बताए ।
यता इराकमा पनि ऐतिहासिक स्थल नियन्त्रणमा लिएको आईएसले प्राचीन र समकालीन कृतिहरु धमाधम नष्ट गरेको छ ।
आईएसले पछिल्लो समय ऐतिहासिक र प्राचीनस्थल कब्जा गरी कलाकृतिहरु नष्ट गर्ने रणनीति नै अपनाएको छ ।
आइएसले इराक र सिरियाका तेल प्रशोधन केन्द्रमाथि कब्जा जमाउने प्रयास पनि जारी राखेका छन् । एजेन्सी