गोखुङ्गा ।
कृष्ण परियार
गोखुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविसमा खानेपानीको हाहाकार भएको छ । गत बैशाख १२ गते गएको विनासकारी महा भुकम्पका कारण खानेपानीको मुहान पत्तालिए पछि ढाकावाङ्ग गाविसको ८ वटा वडाका बासिन्दाले खानेपानीको लागि निक्कै ठूलो सास्ती व्यहोर्दै आएका छन् ।
१२ किलोमिटर टाढा गोखुङ्गा ५ सेपानी बाट पाइप विछ्याएर ल्याइएको पानीको मुहान बैशाख १२ गतेको भुकम्पले हराएपछि स्थानीय बासिन्दा चिन्तित भएका हुन् । सेपानीका २ वटा मुलबाट पानी लैजाने गरेकोमा एउटा मुल पूर्ण रुपमा पत्तालिएको र अर्काे मुलमा पनि ७० प्रतिशत पानी हराएको स्थानीय बासिन्दाको भनाई छ । अघिल्लो दिनसम्म मुलबाट भलभली पानी आउँथ्यो भुकम्प सँगै मुल पत्तालियो के गर्ने के नगर्ने भयौ खानेपानी उपभोक्ता समितिका सचिव नारायण खनालले बताउनुु भयो ।
भुकम्पका कारण मुल पत्तालिए सँगै १ महिना देखि स्थानीय बासिन्दाको धारोपानी पानी आउन छाडेको छ । धारोमा पानी नआएपछि स्थानीय बासिन्दालाई खाना पकाउन, सरसफाई गर्न र चौपाया पाल्न निक्कै समस्या भएको छ । पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा घरपालुवा चौपाया विक्रि गर्न वाध्यभएकोे समाजसेवी कविराम खनालको गुनासो छ ।
घर नजिकैको धारोमा पानी आउँदा २ वटा भैसी पालेका थियौं । अहिले खाना पकाउनको लागिसम्म पनि पानी छैन । चौपाया पाल्ने त कुरा त सम्भव नै छैन । ढाकावाङ्ग ४ की कमला खनालले गुनासो गर्नु भयो । खनालले एक गाग्रो पानीको निम्ति २ घण्टा धाउनु पर्ने बाध्यता सुनाउनु भयो ।
२०४२ सालमा राष्ट्रिय खानेपानी आयोजना अन्तरगत सम्पन्न भएको ढाकावाङ्ग खानेपानी आयोजनामा ८४ धाराबाट ७ सय परिवाकार करिव ६ हजार ४ सय व्यक्ति लाभाम्वित हुँदै आएका थिए ।
धारोमा पानी आउन छाडेपछि स्थानीय बासिन्दाले पुराना पँधेरा, कुवा , खोला , खोल्सी को पानी पिउन बाध्य भएका छन् । क्षत विच्छेद अवस्थामा रहेका पुराना संरचनाको पानी पिउँदा स्थानीय बासिन्दाहरु र विरामी परेको ढाकावाङ्ग ४ का पूर्व वडा अध्यक्ष तुल्सीराम खनालले बताउनु भयो ।
गाउँमा पिउने पानीको निम्ति राज्यले तत्काल बैकल्पिक व्यवस्था नमिलाएमा गाविसका करिव ५ सय परिवार विस्थापित हुने खतरा बढेको खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष जिवनारायण खनालको भनाइ छ ।