जर्मनीमा सम्पन्न ठूला धनी मुलुकहरुको संगठन जी-सेभेन देशको सम्मेलनले रुसमाथि लगाइएको प्रतिवन्ध जारी राख्दै अझ कडा बनाउने सहमति गरेका छन् ।
पूर्वी युक्रेनमा संघर्ष विराम लागू नभएसम्म रुसविरुद्धको आर्थिक प्रतिवन्ध जारी राख्ने निर्णय भएको जर्मन चान्सलर एन्जेला मर्केलले जानकारी दिएकी छिन् ।
दुई दिने सम्मेलनपछि पत्रकारहरुसँग मर्केलले जी-सेभनका राष्ट्र रुसमाथि लगाइएको प्रतिवन्ध थप कडा बनाउन तयार रहेको बताएकी हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओवामाले पनि रुसले युक्रेन मुद्दामा शान्तिसम्झौता पूर्ण रुपमा लागू नगरेसम्म प्रतिबन्ध कायमै रहने उल्लेख गरे ।
यस अघि जी-एटमा सहभागी हुँदै आएको रुसलाई भने गत वर्ष यूक्रेनको पूर्वी क्षेत्र क्रिमिया आफ्नो देशमा बिलय गराएपछि अरु देशले समूहबाट हटाएका थिए ।
सम्मेलनमा पूर्वी यूक्रेनमा जारी संघर्ष, जलवायु परिवर्तन र यसको असर, ग्रीसको संकटापन्न अर्थ व्यवस्था तथा इस्लामिक अतिवादी संगठन आईएसको दबदबाबारे छलफल भएको थियो ।