रुसले नयाँ हतियार योजना अघि बढाउन लागेकामा नेटोले कडा आपत्ति जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले यही वर्ष अर्थात् सन् २०१५ भित्रमा ४० नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल थप्ने घोषणा गरेपछि नेटोले यस कदमलाई खतरा र औचित्यहीन भनेको हो ।
हतियारसम्बन्धी एक मेलामा राष्ट्रपति पुटिनले यी मिसाइल अत्याधुनिक एन्टिमिसाइल डिफेन्स सिस्टमलाई पनि प्रहार गर्न सक्ने क्षमताको हुने बताएका थिए ।
अमेरिकाले पूर्वी युरोपका नेटो आवद्ध देशमा सैन्य उपस्थिति बढाउने प्रस्ताव गरेलगत्तै पुटिनले यो घोषणा गरेका हुन् ।
पूर्वी युक्रेनमा रुसको भूमिकाका कारण पछिल्ला दिनमा रुससँग अमेरिकालगायत पश्चिमा देशको सम्बन्ध तनावपूर्ण रहेको छ । (एजेन्सी)