जासुसी गर्ने अमेरिकी हर्कत कुनै हालतमा सैह्य नहुने फ्रान्सको चेतावनी

आफ्नो देशको सुरक्षा जासुसी गर्ने अमेरिकी हर्कत कुनै हालतमा सैह्य नहुने चेतावनी फ्रान्सले दिएको छ ।
फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ ओलान्डले आफू र आफ्ना दुई पूर्वराष्ट्रपतिविरुद्धको अमेरिकी जासुसी, फ्रान्सविरुद्ध सुराकी नगर्ने अमेरिकी प्रतिबद्धताविपरित भएको भन्दै आक्रोश व्यक्त गरे ।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले फ्रान्सेली राष्ट्रपतिहरुको जासुसी गरेको खुलासा विकिलिक्सले गरेपछि ओलान्डले आफूले दिएको वचन पूरा गर्न पनि अमेरिकाको ध्यानाकर्षण गराए ।
एनएसएले सन् २००६ देखि सन् २०१२ सम्म फ्रान्सेली राष्ट्रपतिहरु ओलान्ड, निकोलस सार्कोजी र ज्याक शिराकको जासुसी गरेको दाबी विकिलिक्सको छ ।
विकिलिक्सका सबै आरोपमा कुनै टिप्पणी नगर्ने भन्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता नेड प्राइसले ओलान्डको सूचना निगरानीमा नराखिएको र राख्ने काम पनि नगरिने प्रष्टिकरण दिएका छन् ।
एनएसएमाथि यसअघि पनि जर्मन चान्सलर एन्जेला मर्केल र ब्राजिलियन एवं मेक्सिकन नेताहरुको जासुसी गरेको आरोप लागिसकेको छ ।
विकिलिक्सले फ्रान्सेली राष्ट्रपति ओलान्ड ग्रीस युरोजनबाट बाहिरियोस् भन्ने पक्षमा रहेको पनि जनाएको छ । (एजेन्सी)