भारतको गुजरातमा भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु, थुप्रै बेपत्ता

भारतको गुजरातमा भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन् ।
भीषण बाढी र वर्षाका कारण गुजरातको राजकोट र अमेरिली जिल्ला बढी प्रभवित बनेका छन् । बाढीका कारण दुई जिल्लाका सयौं परिवार विस्थापित भएका छन् । बस्ती नै डुबानमा परेपछि सर्वसाधारण छतमा बसेर उद्दार पर्खिरहेका छन् ।
यसैक्रममा एक सयभन्दा बढीलाई हेलिकोप्टरमार्फत् सुरक्षित स्थानतर्फ सारिएको छ । राजकोट र अमेरिली जिल्लाबाहेक अन्य सहरमा पनि ठाउँ ठाउँमा पानी जमेका कारण जनजीवन प्रभावित बनेको छ ।
विद्युत् आपूर्ति र यातायात सेवा पनि अवरुद्ध छ । बाढीका कारण गुजरातको शत्रुंजया नदीको पानी बस्तीसम्म पुगेको छ । बाढी प्रभावितहरुलाई राहत वितरण र सुरक्षित स्थानमा सार्न थालिएको छ । (एजेन्सी)