इन्डोनेसियाका विभिन्न पाँच विमानस्थल ज्वालामुखीका कारण बन्द

इन्डोनेसियाका विभिन्न पाँच विमानस्थल ज्वालामुखीका कारण बन्द गरिएको छ । बन्द गरिएका विमानस्थलमा पर्यटकहरुको आकर्षक गन्तव्य मानिएको बाली समेत रहेको छ ।
जाभाको पूर्वी क्षेत्रमा रहेको माउन्ट रउङ्गमा ज्वालामुखी सक्रिय भएको हो । सो पहाडबाट रापिलो वाफ निस्किरहेको बताइन्छ ।
यद्यपी ज्वालामुखी पूर्ण रुपमा विस्फोट नभएको अधिकारीहरुको भनाई छ । ज्वालामुखी सक्रिय भएकै कारण बाली र अस्ट्रेलियाबीचको हवाइ सेवा पूर्ण रुपमा बन्द भएको छ । बालीमा आउने विदेशी पर्यटकमध्ये अधिकांश अस्ट्रेलियन हुन्छन् ।
इन्डोनेसियाली यातायात मन्त्रालयका अधिकारी जे ए बराताका अनुसार माउन्ट रउङ्गामा ज्वालामुखीको सक्रियतालाई मध्यनजर गर्दै हवाई यातायातबारे थप निर्णय गरिने छ ।
अधिकारीहरुका अनुसार बन्द गरिएका विमानस्थलमा बालीका अतिरिक्त लोम्बोक, सिलापाराङ्ग, ब्लिम्बिङ्गसरी र नोटोहाडिनेग्रो रहेका छन् । (एजेन्सी)