ग्रीसको संसदले ऋण संकटको सामना गर्न सरकारद्धारा गरिएको पछिल्लो प्रस्तावलाई बहुमतले स्वीकृत

ग्रीसको संसदले ऋण संकटको सामना गर्न सरकारद्वारा गरिएको पछिल्लो प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । राति अबेरसम्म चलेको संसद बैठकमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा २५१ सांसदले प्रस्तावको पक्षमा मत दिएका थिए ।
सो प्रस्तावलाई सरकारकै दुई मन्त्री र संसद अध्यक्षले भने समर्थन गरेनन् । त्यसैगरी पूर्व अर्थमन्त्री यानिस वारुफाकिस भने मतदानमा सहभागी भएनन् । सत्तारुढ दलका १० सांसदले पनि प्रस्तावको विपक्षमा मत दिए ।
प्रधानमन्त्री एलेक्सिस सिप्रासले प्रस्तावित सुधार कार्यक्रम आफ्नो दलको चुनावी प्रतिबद्धता विपरीत रहेको स्वीकार गरेका छन् । तर उनले यो प्रस्ताव यसअघिको शर्तभन्दा राम्रो रहेको बताए ।
ग्रीसको संसदद्वारा पारित प्रस्तावमाथि शनिबार युरोजोनका अर्थमन्त्रीहरुले छलफल गर्दैछन् । युरोपेली युनियनका नेताहरुले भने सो प्रस्तावका बारेमा आइतबार छलफल गर्ने जनाइएको छ । (एजेन्सी)