फुदवाङ
वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – हिमाल, पहाड र तराई एकै दिन घुम्न सकिने सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माणले सिँचाइ कुलो पुरिएपछि सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ। अन्न उत्पादन हुने खेत बाँझिँदा किसान चिन्तित छन्।
सडक निर्माण गर्दा डोजरले खनेको ढुंगामाटाले कुलो पुर्ने र भत्काएपछि वाङ्लाको खरिपाटा, हल्दे, बिसेफाँट, कुलुफाँट, तीन थुप्रे, हडाहालगायत फाँटको करिब दुई हजार रोपनी खेत चार वर्षदेखि बाँझै छ। फुदवाङबाट लगिएको ठूलो कुलाको माथिबाट सडक खनिँदा कुलोको निसाना नै छैन। खोलाबाट चार किलोमिटर दूरीमा रहेको खेत बाँझिएर चौरजस्तै भएको छ भने एउटा पानी मिल पनि बन्द छ। खेतीयोग्य जमिन बाँझै भएपछि किसानले खाद्यान्न अभाव झेल्नुपरेको छ। कुलो पुरिँदा सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै किसान आक्रोशित छन्। मानो रोपेर मुरी फल्ने खेत चौर भएको छ, पीडित किसान फर्सुराम भण्डारीले भने, ६० मुरी धान उत्पादन हुने खेत चार वर्षदेखि बाँझै छ। आफ्नो अन्यत्र खेत नभएकाले त्यही बाँझोलाई हेरेर बस्न बाध्य भएको उनले बताए। उनले उक्त खेत १० वर्ष भारतमा नोकरी गरेर कमाएको पैसाले किनेका थिए। खेत सिँचाइका लागि वैकल्पिक उपाय पनि छैन।
पूर्वपश्चिम राजमार्ग कपिलवस्तुको सालझन्डीबाट सदरमुकाम हुँदै गुल्मीको पुर्कोट दह र बाग्लुङको बुर्तिवाङ बजार हुँदै ढोरपाटन आरक्षलाई सडकले छुन्छ।
वाङ्ला स्थित पर्ने खर्जयान खोलामा देखिएको हरियाली