वीरेन्द्र केसी
पणेना, अर्घाखाँची – अर्घाखाँची जिल्लाको पणेना सिम्लेका युवा रेवतीराज पौडेलका दौंतरीहरू पैसा कमाउन कोही लाहुरे भए, कोही बिदेसिए। केही जागिरे भए त कोही गाउँ नै छाडे। तर उनलाई पैसा कमाउन कतै जानु परेन।
आफ्नै बारीमा तरकारी, फलफूलका बिरुवा र सुन्तलासहित अन्तरबाली प्रणालीमा रमाइरहेका छन् उनी। बाह्रै महिना भ्याइनभ्याई छ उनलाई। हिउँदभर सुन्तला र वर्षामा फलफूलका बिरुवा बिक्री गर्न व्यस्त छन्।
त्यतिमात्रै होइन मौसमी तथा बेमौसमी तरकारी पनि फस्टाएको छ। सुन्तला, तरकारी र बिरुवाबाट वर्षमा ५ लाख बचत भएको छ, उनले भने, कृषिमै भविष्य खोजेर लागे अहिले मलाई यही सन्तुष्टि मिलेको छ। सुन्तलाका साढे १२ सय बोट छन्। अहिले करिब ६ हजार सुन्तला, कागती, मौसम लगायतका बिरुवा बिक्री भइसके।
सात वर्षदेखि १० रोपनी बारीमा व्यावसायिक खेतीमा लागेका उनले सुन्तलाको बोटमुनी काउली, गोभी, बन्दा आलु, मुला, सिमी, अदुवा, बेसार, खुर्सानी खेती पनि गरिरहेका छन्। लसुन, प्याज, पिंडालु, सखरखण्ड पनि राम्रो उत्पादन छ।
पौडेलमात्र हैन, उक्त गाउँका ५० युवासहित ४ सय ३० घर परिवार पनि यस्तै कृषि कर्ममा रमाइरहेको छ। यहाँ जिल्लाकै धेरै सुन्तला उत्पादन हुन्छ। पछिल्लो समय गोलभेंडा खेती गर्नेहरू पनि बढेका छन्।
अर्का किसान चिरञ्जीवी पौडेलले पनि वर्षमा ३ लाख ५० हजार आम्दानी गर्छन्। सुन्तलाबाट राम्रो आम्दानी भएपछि आफ्नो खर्यान, सामुदायिक वनमा पनि बिरुवा लगाएका छन्। सिम्लेका सबैजसो किसानले बारीमा सुन्तलाका बिरुवा लगाएका छन्। सुन्तला र तरकारीबाट वर्षमा दुई लाख रुपैयाँ बचत गर्ने तुलसा पौडेलले पनि अहिले एक सय बिरुवा लगाइन्। गाउँको टोलमै मोटर, विद्युत, सञ्चार पुगेपछि जग्गाको भाउ महँगो छ।
यहाँ रोपनीको ३० लाख रुपैयाँ पर्छ। कृषिमै भविष्य खोज्दै स्नातक उत्तीर्ण गरेका रेवती भट्टराई पनि बारीमै व्यस्त भेटिए। उनले मकै खेती हुने १० रोपनी बारीमा गोलभेंडा खेती गरेका छन्। कृषिमै लगानी गर्ने उनको योजना छ। गाउँमा गोलभेंडा खेती गर्ने लहर चलेको छ। यहाँ उत्पादित सुन्तला घरमै खरिद गर्न ग्राहक आउँछन् भने तरकारी तानसेन पुर्याउनुपर्छ। गाडीमा बिहान पठाइदिने र बेलुका पैसा पनि ल्याइदिने गरेपछि किसानलाई सजिलो भएको छ। युवाहरू एकआपसमा मिलेर समूह बनाएका छन्। सबै मिलेर गाउँलाई कृषि उत्पादन क्षेत्र बनाउने अभियानमा छन्। अर्का युवा टीकाराम पौडेलले मकै खेती गर्न छाडेर गोलभेंडा, बोडी खेती गरेका छन्। विदेश जान मन नलागेर कृषिमा लागेको उनले बताए। भविष्य यसमै देखेर १० रोपनी बारीमा तरकारी खेती सुरु गरेको छु, उनले भने।
खिदिम कृषि सेवा केन्द्रका प्राविधिक योगेन्द्रप्रसाद यादवले पछिल्लोपटक युवापुस्ता कृषितिर लागेको बताए।
व्यावसायिक कृषकलाई सरकारी अनुदान, आवश्यक प्राविधिक तालिम, बिउ, मल औषधि दिएपछि किसान बढिरहेको उनले बताए। सुन्तला र अन्तरबालीबाट पणेना, पोखराथोक गाविससँगै कृषिप्रधान देश भन्ने नारालाई चरितार्थ गराउन कस्सिएका जोसिला र जाँगरिला युवा किसानलाई थप सरकारी सहयोगको अपेक्षमा छन्।