शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची, साउन ४ । अर्घाखाँची अर्घाखाँची जिल्लाका बासिन्दाहरुले अखण्ड लुम्विनीको पक्षमा आवाज उठाएका छन् । संविधान सभा नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिद्धारा आज सदरमुकाम सन्धिखर्कमा आयोजित सुझाव संकलन कार्यक्रमका सहभागीहरुले एक स्वरमा अखण्ड लुम्विनीको पक्षमा आवाज उठाए ।
उनीहरुले हिमाल ,पहाड र तराई समेटिएको संघिय राज्य हुनु पर्नेमा बताउँदै अर्घाखाँचीलाई कपिलबस्तु र रुपन्देही बाट छुट्टाउन नमिल्नेमा जोड दिए । भौतिक ,प्राकृतिक ,समाजिक ,धार्मिक र सांस्कृतिक हिसावले समेत लुम्विनी अञ्चल एउटै राज्यमा हुनुपर्ने उनीहरुको माग थियो । आफ्नो माग विपरित लुम्विनी अञ्चललाई टुक्राईएमा आफुहरुलाई सहिय नहुने जिल्ला बासिले चेतावनी दिएकाछन् ।
कार्यक्रमको सुरुमै नेपाली कांग्रेसका जिल्ला सचिव बासुदेव आचार्यले हिन्दु राज्यको पक्षमा आवाज उठाउँदा एमाले र एमाओवादीका ग्रामिण स्तरका कार्यकर्ता तथा अधिकांश सहभागिहरुले ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा काग्रेसका युवा नेता विष्णु प्रसाद खनाल मुस्कान लगाय प्रायः काग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रिय निति विपरित हिन्दु राज्यको पक्षमा तर्क राखे । यस्तै स्थानीय बासिन्दाले मानव बेचविखन गर्नेलाई मृत्युदण्डको सजाय गर्नु पर्ने, जल, जंगल, जडिबुटी र जमिनमा नागरिकको अधिकार स्थापित गर्नु पर्ने, पूर्ण प्रेशस्वतन्त्रताको ग्यारेन्टी गरीनुपर्ने लगायतका सुझाव दिएका छन् ।
जिल्लाको क्षेत्र नः १ का सभासद् टोप बहादुर रायमाझी ,क्षेत्र न २ का सभाषद् डा. दूमन सिंह थापा र समानुपातिक सभाषद् मान बहादुर विश्वकर्मा समक्ष उनीहरुले नयाँ संविधानका निम्ती आफ्ना माग उल्लेख गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै एकिकृत नेकपा माओवादीका संसदिय दलका उपनेता टोप बहादुर रायमाझिले जनयुद्ध र जन आन्दोलनका मुद्धाहरुलाई संस्थागत गरी दलिय सहमतिको आधारमा नयाँ संविधान जारी गर्ने तयारी भैरहेको बताउनु भयो । उहाले मुलुले अग्रगमनको बाटो लिई सकेको बताउदै पुराना र बासी कुराको पछाडी नलाग्न जिल्ला बासिलाई आग्रह गर्नु भयो ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य मान बहादुर विश्वकर्मा र एमाले नेता तथा सभासद डा.दुमन सिंह थापाले जन चाहाना अनुसारको लोकतान्त्रीक सविधान जारी गर्ने दिशशामा आफुहरु उन्मुख रहेको बताउदै दिगो शान्ती र मुलुकको उन्नती र प्रगतिको निम्ति नयाँ सविधानको औचीत्य माथी प्रकाश पार्नु भयो ।
निर्धारित समय भन्दा १ घण्टा ढिलोगरी सुरु भएको कार्यक्रममा उल्लेख्य रुपमा स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागिहरु मध्ये अधिकांशले मस्यौदा माथी सुझाव राख्न खोज्दा आयोजक लाई मिलाउन हम्मे हम्मे भैरहेको थियो ।