कोलम्बियामा विश्वकै ठूलो मानिएको सामूहिक चिहानको उत्खनन् सुरु

कोलम्बियामा विश्वकै ठूलो मानिएको सामूहिक चिहानको उत्खनन् सुरु गरिएको छ ।
मेडेलिन शहरको झोपडी रहेको क्षेत्रमा फोरेन्सिक विज्ञहरुले शव खोज्न ल्याण्डफिल साइटबाट हजारौं टन फोहर उठाउन थालेका छन् ।
उत्खनन् पुरा गर्न पाँच महिना लाग्ने अनुमान गरिएको छ । ल्याण्डफिल साइटमा करिव ९० वटा शव पुरिएको अनुमान गरिएको छ ।
तर विभिन्न संगठनहरुले त्यो संख्या ३ सयसम्मको हुनसक्ने अनुमान गरेका छन् । ल्याण्डफिल साइटमा फोहर फाल्ने काम रोक्न र उत्खनन्को निम्ति माग गर्दै १३ वर्ष बितिसकेको थियो ।
राष्ट्रपति अल्बारो उरुबेले सन् २००२ मा त्यस क्षेत्रमा वामपन्थी लडाकुविरुद्ध सैन्य कारवाही गर्न निर्देशन दिएपछि सेना र अर्धसैन्य बलहरुले संयुक्त कारवाही गरेका थिए ।
कोलम्बियामा वामपन्थी लडाकु संगठन फार्क र सेनाबीच भएको ५ दशक लामो लडाईका क्रममा २ लाख मानिसको मृत्यु भइसकेको छ भने ३० हजार भन्दा बढी बेपत्ता भएको अनुमान छ । (एजेन्सी)