बेलायत र फ्रान्सको बीचमा चल्ने यूरोटनेलमा करिब दुई हजार आप्रवासी जबरजस्ती छिर्ने प्रयास

बेलायत र फ्रान्सको बीचमा चल्ने यूरोटनेलमा करिब दुई हजार आप्रवासी जबरजस्ती छिर्ने प्रयास गरेका छन् ।
इङ्गलिस च्यानलको मुनिको सुरुङ हुँदै चल्ने यूरोटनेलमा ती आप्रवासीले जबरजस्ती घुस्ने प्रयास गरेको रेल सेवाले जनाएको हो ।
सोमवार राति फ्रान्सको कैलेस्थित सुरुङमा ती आप्रवासी प्रवेश गर्न खोजेका थिए । बेलायत छिर्ने कोशिशमा धेरै आप्रवासी यस सुरुङको प्रयोग गर्न चाहन्छन् ।
यसैका कारण रेल वेको नियमित सेवा प्रभावित हुँदा यात्रु एक घण्टासम्म अड्किएका थिए ।
गैरकानूनी ढंगले सुरुङमा प्रवेश गर्न खोजेकै कारण गएको केही महिनामा आठ व्यक्ति मारिइसकेका छन् ।
यो सुरुङ प्रयोग गरेर बेलायत छिर्न चाहनेमा अधिकतर इथियोपिया, इरीट्रिया, सूडान र अफगानिस्तानका नागरिक छन् । (एजेन्सी)