वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । प्रजातन्त्रपछि कांग्रेसको किल्ला मानिएको अर्घाखाँचीमा दोस्रो संविधानसभामा दुवै निर्वाचन क्षेत्र वामपंथीको कोल्टामा परिरहेका बेला संविधानको मस्यौदाले सबै दललाई एउटै कित्तामा उभ्याएको छ । त्यो हो संविधान । चुनाव जितेका र हारेका दलका नेताले एउटै स्वरमा भने, छिटै संविधान जारी गर्नुपर्छ ।
राजनीतिमा सधै एकले अर्काेलाई खरो आरोप प्रत्यारोपमा उत्रिने नेताहरु अहिले एउटै मञ्चमा बसेर सुझाव मागेका छन, हैन अब साच्चै संविधान बन्ने नै भयो त, बल्कोटकी राधिका गिरीले भनिन, ४० प्रतिशत मलाई विश्वास छैन । मैले लेख्न पढन जान्दिन, राजनीति पनि थाहा छैन चुनावमा हात जोडेर भोट मागे तर संविधानसभामा सभाषद कुर्ची, टेवुल फुटालेर हानाहान गरेको सुन्दा साह्रै नरामाईलो लाग्यो । नेताहरु अब त्यसो नगरुन मिलेर संविधान बनाउन । हामीलाई शान्ति चाहिएको छ । रोजगारी सृजना होस । परिवार पाल्न छोरो विदेश पठाउन नपरोस । आफनै भूमिमा पसिना काढेर गरिखाने खालको व्यवस्था गरिदेउ नेता ज्यू, मिलेरै देश बनाऊ, यो गिरी सहित अधिकांशको गुनासो हो । अहिले त देशमा शान्ति आयो द्धन्द्धको बेलामा मेरो श्रीमान ०५८ सालदेखी वेपत्ता हुनुहुन्छ, ठुलापोखराकी शुसिला पाण्डेले भनिन, हाम्रो लागि संविधानमा के व्यवस्था हुन्छ न्याय कहाँ पाईन्छ सभाषद ज्यु, परिवार पाल्ने नै बेखबर भएपछि कसरी बाच्ने ? ।
मस्यौदा माथि क्षेत्र १ को बल्कोट र २ को सन्धिखर्कमा भएको छलफलमा १ मा जितेका एमाओवादीका टोपबहादुर रायमाझी र २ मा एमालेका डा.दुमन थापासँग काग्रेस समानुपातिक सभाषद मानबहादुर विश्वकर्मा सहित एउटै मञ्चबाट नागरिकको सुझाव लिए । संघीयता विरोधीको पहिचान बनाएको जिल्लाको राजनीतिमा चौथो शक्ति राष्ट्रिय जनमोर्चा सहित राप्रपा, जनमुक्ती, परिवार दल, माले संविधान जारी गर्न एकमत भए । संविधानको प्रारम्भिक मस्यौदा माथिको छलफलमा सभाषद र नेताको अभिव्यक्तिले एउटै स्वरको संकेत ग-यो ।
संविधान सुशील कोईरालकै सरकारले जारी गर्छ, प्रतिपक्ष दल एमाओवादी संसदीय दलका उपनेता समेत रहेका रायमाझीले भने, सबै दलको सहमतीको संविधान जारी हुन्छ । काग्रेसले भनेजस्तो पनि हुदैन, न त एमालेको नै । यता एमाओवादी, मधेशी दल कसैको पनि एजेण्डा हुबहु पास हुदैन सबैका केही पर्ने र केही छुटने हुन्छन यसैमा सबै खुसी हुनुपर्छ रायमाझीको तर्क छ । सभाषद थापाको पनि भनाई उस्तै छ । जनचाहना अनुसारको संविधान जारी गर्न हुलाकी बनेर जनताको सुझाव संकलन गर्न हामी आएका हौ, उनले भने, सुझाव जस्ताको तस्तै संविधानसभामा लैजान्छौ । संविधान जारीपछि कृषि र आर्थिक क्रान्तिबाट नेपाललाई विकसित राष्ट बनाउनु पर्ने दावी उनले गरे ।
पहिलो संविधानपछि दुई कम्युनिष्ट पाटीका चार प्रधानमन्त्रीको पालामा बन्न नसकेको संविधान आफनो पाटीका सभापति सुशील कोईरालाको नेतृत्वमा जारी भएपछि जस पाईने भन्दै काग्रेस मख्ख छ । हरेक राजनीति परिवर्तनको नेतृत्व काग्रेसले नै गरेको छ संविधान पनि काग्रेसकै नेतृत्वमा बन्दैछ, केन्द्रिय सदस्य विश्वकर्माले भने, सबैको साझा एजेण्डामा संविधान जारी हुन्छ । देश टुक्राउने संघीयता भन्ने शब्द खारेज गरौं भन्दै जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले छिटो संविधान नबने गणतन्त्र धरापमा परी खोसिन तर्क गरे । परिवतर्नका उपलब्धीलाई संस्थागत गर्न संविधान छिटै बनाउनुको विकल्प नभएको उनले बताए । अन्य साना दलले पनि छिटो संविधान बन्नुपर्नेमा जोड दिए ।
संविधानमा कसैको पनि विमती रहेन । संघीयता लगायत १ सय २८ पेजको मस्यौदामा उल्लेख गरिएका भाग, धारा, उपधारा र अनुसुचीमा केही फरक धारणामा दलबीच मत बाझियो । देश संघीयतामा गयो कसैले रोक्न सक्दैन, काग्रेस सभापति कमलप्रसाद भुसालले भने, संविधानमा बहुलबाद र लोकतान्त्रिक समाजवाद उन्मुख लेखिनुपर्छ । त्यसमा हिन्दुधर्म हुनुपर्नेमा सचिव वासुदेव आचार्यले जोडदार माग राख्दै संघीयताको नामाकंन र सीमाकंन पहिल्यै हुनुपर्ने र अखण्ड लुम्बिनी प्रदेश हुनुपर्ने दावी गरे ।
एमाले उपाध्यक्ष जीवनारायण कोईरालाले संविधान जारी भएपछि बन्ने संघीय आयोगले सिमा र प्रदेशसभाले नामाकंन गर्ने बताए । काग्रेसका नेता विष्णु मुस्कानले प्रदेशको नाम जातीय रुपमा राख्न नहुने तर्क राखे । प्रजातन्त्रपछि २०४८, ०५१ मा भारी मतले काग्रेसका ढुण्डिराज शास्त्री र रेवती भुसाले जिते । शास्त्री गरिजाप्रसाद कोईरालाको ३ सदस्यीय मन्त्रीमण्डलमा उद्योग मन्त्री समेत भए । ०५६ मा एमाले र जनमोर्चाको गठबन्दनमा काग्रेसले दुवै क्षेत्र हा-यो । ०६४ मा क्षेत्र २ मा विजय भएपनि दोस्रो चुनावमा दुवै क्षेत्रबाट काग्रेस पराजित भयो । सुझाव संकलनमा मधेशी र हाडीको एकता देखी बेरोजार, धर्म, नागरिकता, सीमा र नामकंन, अधिकारीको बारेमा धारणा नागरिकले राखेका थिए ।
मस्यौदा माथि छलफलमा चन्द माओवादी बाहेक सबै दल सहभागी भए । वैद्य माओवादीका नेता पिताम्बर आचार्यले सन्धिखर्कमो छलफलमा घुमाउरो तरिकाले संविधानको समर्थन पनि गरे तर जनपक्षीय नबन्ने भन्दै आफना कुरा राखेर उनी सहित चार जनाले मस्यौदा च्यातेर हलबाट बाहिरिए ।