भुवन न्यौपाने
काठमाडौं । अर्घाखाँचीको छत्रगञ्जमा रहेको श्री सार्वजनिक उच्च माध्यमिक विद्यालयको पुस्तकालय विस्तारका लागि छत्रगञ्ज-काठमाडौं सम्पर्क समाजले टिसर्ट अभियान सुरु गरेको छ ।
प्यारो छत्रगञ्ज लेखेको टिसर्ट विक्रीबाट उठेको रकमलाई पुस्तकालय विस्तारका लागि खर्च गरिने अभियानको संयोजन गरिरहेको पुस्तकालय उप-समितिले जनाएको छ । समाजले आयोजना गरेको पुस्तकालय निरन्तरताका लागि टिसर्ट अभियान तथा सम्मान कार्यक्रममा सनिबार टिसर्टको औपचारिक वितरण समेत गरियो ।
उक्त कार्यक्रममा समाजले २०७१ सालको एसएलसी परीक्षामा अर्घाखाँचीबाट जिल्ला द्धितीय हुने छत्रगञ्जका आशिष पाण्डे र जिल्ला तृतीय तथा छात्रातर्फ जिल्ला प्रथम हुने एसिया श्रेष्ठलाई समाजका अध्यक्ष टोपलाल पौडेल तथा अन्य विशिष्ट व्यक्तिहरुले सम्मान गरेका थिए । छत्रगञ्ज घर भई अन्य विद्यालयबाट एसएलसी उत्तीर्ण हुने छत्रगञ्जका जीवन पाण्डे, एन्जिला पाण्डे, डोनाल्ड रायमाझी, बाटिका शर्मा, रचना रायमाझी, रिया पोखरेल तथा भगवती गाविसका विश्व श्रेष्ठ र दीपक पाण्डे समाजबाट सम्मानित भएका छन् ।
एसएलसी परीक्षामा बोर्ड प्रथम हुने भ्याली भ्यू इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल धु्रबप्रसाद पोखेरललाई पनि समाजका तर्फबाट सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा सम्मानित हुने विद्यार्थीका तर्फबाट आशिष पाण्डे र एसिया श्रेष्ठले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा भ्याली भ्यू इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ध्रुवप्रसाद पोखरेलले समाजबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा समाजका उपाध्यक्ष कविराज पोखरेलले एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए । सो कार्यक्रममा पोखरेलले पुस्तकालयका लागि सहयोगार्थ रकम संकलन गर्न टि सर्ट अभियान सञ्चालन गरिएकाले यसमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।
उक्त कार्यक्रममा समाजका सल्लाहकार लेखनाथ पोखरेलले एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्दै यो सम्मानलाई चुनौतिका रुपमा लिन समेत विद्यार्थीहरुलाई आग्रह गरेका छन् । यो सम्मानले विद्यार्थीहरुलाई सही मार्गमा डोर्याउन प्रेरणा मिल्नेमा उनको विश्वास रहेको थियो ।
समाजका अध्यक्ष टोपलाल पौडेलले छत्रगञ्जको समग्र विकासमा छत्रगञ्जवासीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकार पदमलाल पाण्डे तथा लक्ष्मण रायमाझीले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै प्रोत्साहनमुलक कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गरिने समाजका सचिव अर्जुन पन्थीले जानकारी गराएका छन् ।