भारतको राजस्थानमा बाँदरले पानीट्यांकीमा खसाल्दा दुई महिनाकी बालिकाको मृत्यु

भारतको राजस्थानस्थित रसीदपुरा गाउँमा एउटा बाँदरले दुई महिनाकी बालिकाको हत्या गरेको छ । घरको कोठामा सुतिरहेकी बालिकालाई बाँदरले बोकेर पानी ट्यांकीमा लगेर खसालेको थियो ।
प्रहरीका अनुसार योगेश्वरी प्रजापत नाम गरेकी ती बालिकालाई कोठामा सुताएर आमा खाना पकाउन भान्छामा गएकी थिइन् । ढोका खोलेर भित्र पसेको बाँदरले योगेश्वरीलाई बोकेर पानी ट्यांकीमा लगेर खसालेको हो ।
परिवारका सदस्यले बालिकालाई तत्काल उद्धार गरी महुवास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा लगेका थिए जहाँ चिकित्सकले बालिकालाई मृत घोषित गरेका थिए ।
बालिकाका पिता राजेशकुमारका अनुसार रसीदपुरा र आसपासका क्षेत्रमा केही दिनदेखि बाँदरले आतंक नै मच्चाएका थिए । बाँदर नियन्त्रणका लागि स्थानीय प्रशासनमा उजुरी गरिएको भए पनि कुनै सुनुवाई नहुँदा यस्तो दुर्घटना भएको उनले बताए । (एजेन्सी)