कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । सूचना लोकतन्त्रको गहना भएको जनाउँदै एक कार्यक्रमका सहभागीले सार्वजनिक निकायमा आफुले चाहेको सूचना माग गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको बताएका छन् ।
सूचना तथा सुशासन अभियान र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सदरमुकाम सन्धिखर्कमा आयोजित सूचनाको अधिकार सम्बन्धी अन्र्तरसंवाद कार्यक्रमका सहभागीहरुले जनताको करबाट सञ्चालित सरकारी तथा गैरसरकारी निकाय बाट सम्पादित सबै किसिमका कामको बारे जानकारी लिने अधिकार जनतालाई भएको बताएका हुन् । उनीहरुले कानुन सम्मत रुपमा सूचनाप्रदान गर्न आनाकानी गर्नु गैर कानुनी काम भएको भन्दै जनता स्वयं सचेत भएर सबै खालका कामकाजको बारेमा सूचना माग्ने परिपाटीको विकास गरेमा भ्रष्टाचार नियन्त्रण हुने दाबी समेत गरे ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सार्वजनिक महत्वका कार्यालयले जनताले मागेका सूचना प्रवाह गर्न आनाकानी गर्न नहुने बताउनु भयो । उहाँले जिल्लाको सबै सरकारी कार्यालयमा आफैले सूचना अधिकारीको ब्यवस्था गरेकोले जनताले चाहेको बखत कुनै पनि प्रकारको सूचना प्राप्त गर्न सक्ने बताउनु भयो ।
अर्घाखाँची उद्योगवाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र सूचना तथा सुशासनत अभियानका सचिव बसन्त श्रेष्ठ छापेली, को संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, सूचना तथा सुशासन अभियानका अध्यक्ष मुक्तिनाथ भुसाल र समाजसेवी गोबिन्द आचार्य लगायतका बक्ताले मन्तब्य राख्दै सूचनाको हक जवाफ देहिता र पारदर्शीताको स-शक्त औजार भएको औल्याए ।