अर्घा, अर्घाखाँची । विश्वमै दुर्लभ डंगर गिद्धको बासस्थान भएका अर्घाखाँची जिल्लाको अर्घाका सामुदायिक वनहरुले गिद्ध तथा अन्य वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि संरक्षण कार्यक्रमहरु आफ्ना वनको कार्ययोजनामै समावेश गर्ने भएका छन ।
गार्त खहरे सामुदायिक वनको आयोजनामा अर्घाको पोखेडाँडामा सम्पन्न भेला मार्फत उक्त निर्णय गरीएको हो ।
भेलाले गिद्धको बासस्थान (गुडँं) भएका ब्लकहरुमा अग्ला र ठुला सल्लाका रुखहरु कटानमा रोक लगाउने, गाँउमा काल गतिले मरेका चौपायाहरुलाई वनको खुला ठाउमा गिद्धको आहारका लागि फ्याक्ने, गिद्धको नियमित अनुगमन गर्ने, हरेक वर्ष कम्तिमा दुई वोटा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने र गिद्ध संरक्षणका लागि सरकारी तथा गैर सरकारी संस्थाहरु सँग सहकार्य गरी अघि बढने निर्णय गरेको गार्ता खहरे सामुदायिक वनका अध्ययक्ष डिल बहादुर रानाभाटले बताए ।
नेपाल पंछी संरक्षण संघको सहयोगमा विगत पाँच वर्ष देखी गर्ता खहरेका साथै खहरेखोला सामुदायिक वन, गर्लामको सल्लेरी वन र घेरा भिर क्षेत्रमा गिद्धको संरक्षण तथा अनुगमन कार्य निरन्तर गरीदै आएको गिद्ध संरक्षणका स्वयमसेवी खिमलाल पराजुलीले बताए । नेपालमा पाईने ९ प्रजातिका गिद्ध मध्ये अर्घाखाँची जिल्लामा तराईको रैथाने लोपोन्मुख डंगर गिद्ध, दुर्लभ सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध, हाडँफोर गिद्ध, खैरो गिद्ध र राज गिद्ध पाईने उक्त भेलाको सहजिकरण गरीरहेका नेपाल पंछी संरक्षण संघका परीयोजना अधिकृत कृष्ण भुसालले बताए । नेपालमा दुर्लभ गिद्ध संरक्षणका लागि सामुदायिक वनहरुको भुमिका अग्रणि तथा विश्व संरक्षण समुदायका लागि अनुकरणीय रहेको भुसालले जनाए ।
मरेका जनावरको सिनो खाई वातावरण स्वच्छ र सन्तुलित राख्ने प्रकृतिका कुचिकार गिद्धहरु नब्बेको दशकमा पशु उपचारमा प्रयोग गरीने डाईक्लोफेनेकका कारण लोप हुने अवस्थामा पुगेका हुन । हाल आएर यस ओषधिलाई प्रतिबन्ध लगाई विकल्पमा सुरक्षित ओषधि मेलोक्सीक्यामको उत्पादन तथा प्रयोगमा जोड दिईएको छ ।
गिद्ध संरक्षणका लागि नै यहाका सामुदायिक वनहरुले खोटो संकलनमा समेत रोक लगाएका छन । गिद्ध संरक्षण सचेतना अभिविद्धिका लागि विभिन्न होर्डिङ्ग बोर्डहरु पनि राखिएको छ ।
Krishna Prasad Bhusal contributed to this report.