क्यालिफोर्निया राज्यको सान बर्नाडिनोमा १४ जनाको हत्या गरिएको घटनामा आतंकवादीको संलग्नता

अमेरिकाको क्यालिफोर्निया राज्यको सान बर्नाडिनोमा १४ जनाको हत्या गरिएको घटनामा आतंकवादीको संलग्नता रहेको मान्दै अमेरिकी संघीय जाँच आयोग (एफबीआइ)ले छानबिन थालेको छ ।
आक्रमणमा संलग्न २७ वर्षीया तस्फिन मलिक र उनका श्रीमान् साइद रिजवान फारुक प्रहरी कारबाहीमा मारिएपनि तस्फिन आइएसमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।
तस्फिनले क्यालिफोर्नियामा आक्रमण गर्नुपूर्व आफ्नो फेसबुक अकाउन्टमा आइएसप्रति आफू इमान्दार रहेको उल्लेख गरेकी थिइन् । उनले अरु नै नामबाट फेसबुक चलाउने गरेको एफबीआइले जनाएको छ ।
तस्फिनले पाकिस्तानबाट अमेरिकी भिसा पाएको र उनका बारेमा थप जानकारी जुटाउने काम भइरहेको एफबीआइले जनाएको छ ।
गत बुधबारको आक्रमणमा १४ जना मारिएका थिए भने २१ जना घाइते भएका थिए । (एजेन्सी)