भारतमा गोर्खाल्याण्ड राज्य स्थापनाका लागि सामूहिक आत्मदाह गर्ने चेतावनी

दार्जिलिङ र आसपासका क्षेत्रहरु समेटेर छुट्टै गोर्खाल्याण्ड राज्य बनाउन माग गर्दै लामो समयदेखि आन्दोलनको नेतृत्व गर्दै आएका गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङले गोर्खाल्याण्ड राज्य स्थापनाका लागि सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँगको कुराकानीमा गुरुङले गोर्खालाई न्याय नदिए हजारौं गोर्खाले दिल्लीमा आत्मदाह गर्ने चेतावनी दिएको दार्जिलिङबाट प्रकाशित हिमालय दर्पण पत्रिकाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
गृहमन्त्री सिंहसँग भएको वार्ता गोर्खाल्याण्ड आन्दोलनको फेरि शुरुवात भएको भन्दै गुरुङले अब गोर्खाल्याण्डमा हस्ताक्षर गरेर मात्रै बिसाउने दृढता पनि जनाएका छन् ।
गृहमन्त्री सिंहसँग गुरुङले बंगालीले आफूहरुलाई कहिल्यै राम्रो दृष्टिले नहेरेको भन्दै अब पश्चिम बंगाल अन्तर्गत बस्न नसक्ने स्पाष्ट पारेको पनि सो पत्रिकाले जनाएको छ ।
गुरुङको अभिव्यक्तिपछि दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन फेरि चर्किने संकेत देखिएको छ । (एजेन्सी)