एशियाका चार मुलुकले ग्याँस पाइपलाइन शुरु गर्नेसम्बन्धी सम्झौता गरेका छन् ।
तुर्कमेनिस्तान, अफगानिस्तान, पाकिस्तान र भारतबीच ग्याँस पाइपलाइन शुरु गर्नेबारेमा पहिलो पटक सम्झौता भएको हो ।
तुर्कमेनिस्तानको मेरी शहरमा भएको ती मुलुकका नेताको बैठकले चार देशमा जोडिने पाइपलाइन सम्बन्धी सम्झौता गरेको हो । सन् २०१८ को अन्त्यसम्ममा यस पाइपलाइनमार्फत् ३३ अरब क्यूबिक मिटर ग्याँस आपूर्ति हुने तुर्कमेनिस्तानले जनाएको छ ।
यस परियोजनामा १० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । पाइपलाइन परियोजनाको माध्यमबाट दक्षिण एशियामै ग्याँस आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ ।
तुर्कमेनिस्तानका राष्ट्रपति गूरबानगूली बैरदिमुहामेदोभ, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ र भारतका उपराष्ट्रपति हमिद अन्सारीबीच भएको बैठकपछि यो सम्झौता गरिएको हो । (एजेन्सी)