सिरियामा शान्ति कायम गर्नेसम्बन्धि प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदबाट सर्वसम्मतिले पारित भएको छ ।
१५ सदस्यीय परिषदको न्यूयोर्कमा भएको बैठकमा आगामी जनवरीमा सिरियाली सरकार र विपक्षीबीच वार्ता गराउँदै युद्ध रोक्न लगाउनेबारे सर्वसम्मति जुटेको हो ।
यसैगरी सिरियाकै जनताले आफ्नो देशको भाग्य फैसला गरुन् भन्न आगामी १८ महिनाभित्र देशमा राष्ट्रसंघको निगरानीमा चुनाव गराउने प्रस्तावमा पनि सुरक्षा परिषदमा सहमति जुटेको छ ।
सिरियामा हिंसात्मक द्वन्द्व सुरु भएको पाँच वर्ष पुग्न लागेको छ । यस अवधिमा साढे दुई लाखभन्दा धेरै मानिस मारिएको तथा लाखौं लाख मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।
प्रस्तावमा सिरिया सरकार र विपक्षीबीच वार्ता गराउने उल्लेख भएपनि आतंकवादी संगठनविरुद्धको कारवाही अभियानमा भने प्रभाव नपर्ने उल्लेख गरिएको छ ।
सुरक्षा परिषद बैठकको अध्यक्षता गर्नु भएका अमेरिकी विदेशमन्त्री जोन केरीले यो प्रस्तावले अब सिरियामा हुँदै आएको संघर्ष रोकिने सन्देश दिने बताएका छन् ।
प्रस्तावमा सिरियाली राष्ट्रपति बसर अल असदको भविष्यका बारेमा केही उल्लेख गरिएको छैन । वार्ताका लागि असदलाई सत्ताबाट हटाउने कुराको रुसले भने विरोध गरेको छ । (एजेन्सी)