वीरेन्द्र केसी
खिल्जी, अर्घाखाँची । सँगै मदिरा सेवन गरेको दुई साथीबीचको झगडाले उग्ररुप लिएपछि एकको ज्यान गएको छ ।
अर्घाखाँचीको खिल्जी – ४ दुरवाङका ४५ वर्षीय हेमराज भण्डारी र प्युठानको दाङवाङ गाउका २१ वर्षीय जगतबहादुर मुखियाबीच आपसी भनाभनले हातपात भएपछि भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुरवाङ र दाङवाङ नजिकैका गाउँ हुन ।
प्रहरीले अभियुक्तलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्वन्ध राखेपछि आक्रोशमा आएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ । गाउँमा हल्ला चलेपछि बुझ्न भन्दै उनकै घरमा गएको थिए, पत्रकार सम्मेलनमा मुखियाले भने, सँगै बसेर मदिरा पनि खायौं, रिसको झोकमा हत्या गरें।
भारतमा रोजगार गरी घर आएका मुखियाले आफनै श्रीमतीसित भण्डारी नजिक रहेको आरोप लगाएपछि भनाभन भएको थियो । प्रहरीका अनुसार भनाभनपछि उनीहरु हात हालाहालमा उत्रिएका थिए ।
घटनापछि भागेका मुखियालाई प्रहरीले छिमेकीको घरबाट पक्राउ गरेको छ । घटनास्थल सदरमुकाम देखि करिब ४० किलोमिटर टाढा पर्छ ।
भण्डारी आइतबार आफनै घरको काठामा निधारमा चोट, नाकबाट रगत बगेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा शव बेरेर राखेको अवस्थामा भेटिएको थियो । शव पोष्टमार्टमका लागि सन्धिखर्क अस्पतालमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी कमलराज खरेल र प्रहरी निरीक्षकसुरेन्द्रराज जोशीको नेतृत्वमा दुइओटा टोली आइतबार दिनभर मुखियाको खोजी कार्यमा खटिएको थियो। आिइतबार पक्राउ नगरेको भए भागरे इन्डिया जाने संभावना बढी थियो, डिएसपी खरेलले भने, निकै मेहेनतका साथ खोजी गर्दा पक्राउ गर्न सफल भयौं। प्रहरी निरीक्षक जोशीले घटनाको बारेमा थप अनुसन्धान गरी कारवाही पक्रिया अघि वढाउने बताए ।
स्रोत: केही समाचार नेपाली संचारमाध्यमबाट लिएको हो ।