यो वर्ष गैरकानुनी रुपमा युरोप प्रवेश गर्नेको संख्या १० लाख

यो वर्ष गैरकानुनी रुपमा युरोप प्रवेश गर्नेको संख्या १० लाख नाघेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमको एक प्रतिवेदनअनुसार युरोप प्रवेश गर्ने आप्रवासीको संख्या गएको वर्षभन्दा चार गुणाले बढेको छ ।
युरोप प्रवेश गर्नेमध्ये झन्डै ८ लाख टर्कीबाट ग्रिस हुँदै समुद्री मार्ग भएर गएका हुन् । आप्रवासीको प्रवाह बढी भएपछि युरोपियन युनियनका देशबीच राजनीतिक मतभेद पनि भएको छ ।
हंगेरी र स्लोभाकिया जस्ता देशले युरोपियन कोर्ट अफ जस्टिसमा आप्रवासीका लागि ईयुले बनाएको नियम विरुद्ध मुद्दा दायर गरेका छन् ।
आइओएमले सार्वजनिक गरेको प्रतिवेदनमा ग्रिस, बुल्गेरिया, इटली, स्पेन, माल्टा तथा साइप्रेस भएर युरोप पुग्ने आप्रवासीलाई समावेश गरिएको छ । 
प्रतिवेदनअनुसार भूमध्य सागर पार गरेर युरोप प्रवेश गर्नेमा आधाभन्दा धेरै सिरियाली नागरिक रहेका छन् ।
यस्तै २० प्रतिशत अफगानिस्तानका नागरिक र सात प्रतिशत इराकका छन् । आइओएमका अनुसार समुद्री मार्ग भएर युरोप प्रवेश गर्ने क्रममा ज्यान जाने तथा बेपत्ता हुनेको संख्या यो वर्ष ३ हजार ६ सय ९५ पुगेको छ । (एजेन्सी)