सिर्जनाका मुहान (गज़ल)

-कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, युएसए
 सुधाको घडा त्यो नप्यूॅदै जहर भो
खुसीको सहर यो व्यथाको सहर भो
रुँदै चाँद तारा लुके मेघ भित्र
अँध्यारो छ बस्ती र बस्नै कहर भो
ढले मित्रताका उँचा स्तम्भ ऐले
सके दैवको नै निकम्मा ठहर भो
नफुल्दै नफ़ल्दै सुक्यो जिन्दगानी
न टोकौं न बोकौँ वृथाको नहर भो
सयौँ वेदनामा बिते रात धेरै
यहाँ दर्द हर्ने न कौनै प्रहर भो
विलाए कता सिर्जनाका मुहान
न ता छन्द आयो न मीठो बहर भो
गए टाक्सिॅदै चाहना भित्रभित्र
सुखाशा सबै आज थोत्रो रहर भो
झरे आश उत्साह ती कोपिलामै
र साँच्चै निराशाहरूको लहर भो
(भुजङ्गप्रयात छन्द)