मेक्सिकोका खतरनाक लागू औषध तस्कर गुस्मान लोएरा पक्राउ

कारागार तोडेर फरार भएका मेक्सिकोका खतरनाक लागू औषध तस्कर गुस्मान लोएरा पक्राउ परेका छन् ।
एल चैपो नामले परिचित लोएरा लागू पदार्थ कोकिनका खुंखार तस्कर हुन् । मोस्ट वान्टेडको सूचीमा रहेका लोएरा गत छ महिना अघि पक्राउ परेका थिए ।
कडा सुरक्षाकाबीच मेक्सिकोको कारागारमा रहेका उनी डेढ किलोमिटरको सुरुङ खनी भाग्न सफल भएका थिए । उनले मेक्सिकोमा रही अमेरिकामा ठूलो परिमाणमा लागू औषध आपूर्ति गर्दै आएका थिए ।
अमेरिकाले उनको नाममा ५० लाख अमेरिकी डलर इनाम घोषणा गरेको थियो । मेक्सिकोको सिनलोआ प्रान्तमा सेनासँगको मुठभेडमा उनी पक्राउ परेका थिए ।
उनी यसअघी पनि ग्वाटेमालाको कारागारबाट फरार भएका थिए । सन् १९९३ मा ग्वाटेमालामा पक्राउ परेका उनी सन् २००१ मा कपडा लोड गरेको ट्रकमा चढी भाग्न सफल भएका थिए । (एजेन्सी)