अरब लिगका विदेशमन्त्रीहरुले इरानको निन्दा गरेका छन् । इरानको राजधानी तेहरानस्थित साउदी अरबको दूतावासमा केही दिनअघि भएको आक्रमणको विषयलाई लिएर अरब लिगका विदेशमन्त्रीहरुले इरानको निन्दा गरेका हुन् ।
साउदी दूतावासमा भएको आक्रमणबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा बसेका अरब लिगका विदेशमन्त्रीहरुको आपतकालीन बैठकले घटनाको निन्दा गरेको हो । अरब लिगका विदेशमन्त्रीले इरानका अधिकारीले साउदी दूतावासमा सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।
लेबनानबाहेक लिगका अधिकांश देशले इरानको विरोध गरिएको प्रस्तावको पक्षमा मत दिएका छन् । साउदी अरबले शिया धर्म गुरु निम्र अल निम्रलाई मृत्युदण्डको सजाय दिएपछि इरानमा त्यसको विरोधमा प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीले तेहरानमा रहेको साउदी दूतावासमा आगजनी गरेका थिए । त्यसपछि साउदी अरबले इरानसँगको कुटनीतिक सम्बन्ध तोडेको थियो भने सिधा हवाई सेवा पनि बन्द गरेको थियो । (एजेन्सी)