विश्व स्वास्थ्य संगठनले पश्चिमी अफ्रिकालाई इबोला मुक्त घोषणा गरेको केही घण्टा बित्न नपाउँदै सियरा लियोनमा इबोलाबाटै एक जनाको मृत्यु भएको छ ।
सियरा लियोन स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिदी याहाले उत्तरी क्षेत्रमा एक युवकको मृत्यु भएको बताए । विश्व स्वास्थ्य संगठनले सियरा लियोनलाई गत नोभेम्बरमा इबोला मुक्त भएको घोषणा गरेको थियो ।
बिहीबार मात्रै लाइबेरियालाई पनि इबोला मुक्त घोषणा गरिएको थियो ।
अफ्रिकी मुलुकमा सन् २०१३ को डिसेम्बरमा पहिलो पटक इबोला देखिएको थियो । त्यसबेलादेखि विश्वभर ११ हजार मानिसको इबोलाबाट मृत्यु भएको थियो ।
इबोलाबाट मृत्यु हुने अधिकांश लाइबेरिया, गिनी र सियरा लियोनका नागरिक छन् । (एजेन्सी)