अमेरिकाद्धारा इरानमाथि नयाँ प्रतिबन्ध

अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । परमाणु कार्यक्रम कम गर्नेसम्बन्धी गएको वर्षको जुलाईमा भएको सम्झौताको प्रतिबद्धताअनुसार काम गरेको भन्दै अमेरिकासहित अरु देशले प्रतिबन्ध हटाएको एक दिनपछि नै अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
नयाँ प्रतिबन्धअनुसार इरानको मिसाइल कार्यक्रमसँग सम्बन्धित ११ संस्था तथा व्यक्तिले अमेरिकी बैकिङ प्रणालीको प्रयोग गर्न पाउने छैनन् । अस्ट्रियाको भियनामा भएको अमेरिका, इरान तथा युरोपियन युनियनका विदेश मन्त्रीको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आइएइएले इरानको पछिल्लो परमाणु कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गरेको थियो ।
त्यसपछि आइतबार इरानमाथि सन् २०१२ देखि लाग्दै आएका सबै किसिमका अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरिएको थियो । नयाँ प्रतिबन्ध गत अक्टोबरमा इरानले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै परमाणु क्षमताको ब्यालेस्टिक मिसाइल परीक्षण गरेका कारण लगाइएको हो ।
भियनामा आइएइएले पेश गरेको प्रतिवेदनमा इरानले गएको जुलाइमा भएका सम्झौताअनुसार परमाणु कार्यक्रम कम गर्ने पक्षका काम गरेको उल्लेख गरिएको छ । यही प्रतिवेदनका आधारमा इरानले चार इरानी मुलका अमेरिकीलाई रिहा गरेको थियो ।
रिहा हुनेमा वासिङ्टन पोस्टका पत्रकार जेसन रजाइयान पनि छन् । अमेरिकाले पनि सात जना इरानी नागरिकलाई छाड्ने तयारी गरेको जनाएको छ । (एजेन्सी)