चीनको आर्थिक बृद्धिदर २५ वर्ष यताकै कम

चीनको आर्थिक बृद्धिदर २५ वर्ष यताकै कम भएको छ । गत वर्षको चीनको आर्थिक बृद्धिदर ६.९ प्रतिशत रहेको छ । यो विगत २५ वर्षयताकै कम भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
चीन सरकारले सन् २०१५ का लागि आर्थिक बृद्धिदर ७ प्रतिशत रहने अनुमान गरेको थियो । सन् २०१४ मा चीनको आर्थिक बृद्धिदर ७.३ प्रतिशत थियो ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक बृद्धिदर अपेक्षा गरिएअनुसार कै रहेको जनाइएको छ । रोजगारीका नयाँ अवसर सिर्जना हुँदै गएकाले न्यून दरको आर्थिक बृद्धि स्वीकार्य रहेको विश्लेषकहरुले बताएका छन् ।
केही विश्लेषकले चीनको अर्थतन्त्र उपभोग तथा सेवा समूहले नेतृत्व गरिरहेकाले यो वर्ष आर्थिक बृद्धिदर अझै कम हुनसक्ने चेतावनी दिएका छन् । आर्थिक बृद्धिदरमा सुधार हुनका लागि अर्थतन्त्रको नेतृत्व निर्यात तथा लगानीले गर्नुपर्छ ।
अर्थतन्त्रमा सुधारका लागि भन्दै चीनको केन्द्रीय बैंकले सन् २०१४ देखि अहिलेसम्म ६ पटक ब्याजदर घटाएको छ । (एजेन्सी)