बाँकी छ (गज़ल)

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
**********
जिन्दगीमा अझै के के,हुन बाँकी छ ?
कति रोएँ अरू कति,रुन बाँकी छ ?
चकमन्न अँध्यारोले,निल्यो सधैँ नै
तारा झरे टिल्पिलाउँदो,जुन बाँकी छ
बैगुनीले भुली सके,टाढा सम्झिँदै
किन भन्थे फलानोको,गुन बाँकी छ ?
चाहनाका अग्ला महल,बले हुर्हुरी 
खरानीको थुप्रो लाग्यो,छुन बाँकी छ
धर्म भन्दा पाप धेरै,गरे जस्तो भो
गंगाजलले अधर्म ती,धुन बाँकी छ
वेदनाले छाती भित्र,पोल्छ भतभती
विरहका पोका सबै,फुन बाँकी छ
रछ्यानमा मिर्किए झैं,भयो प्रतिभा
कस्ले सोच्छ खिया भित्र,सुन बाँकी छ ?
जननीलाई भुल्थेॅ कहाँ,फिर्छु अवश्य 
तिर्नु पर्ने भारा तथा,नुन बाँकी छ