अमेरिकी मुलुकमा महामारीको रुपमा फैलिएको जिका भाइरसविरुद्धको खोप उपलब्ध हुन अझै दश वर्ष लाग्न सक्ने

अमेरिकी मुलुकमा महामारीको रुपमा फैलिएको जिका भाइरसविरुद्धको खोप सार्वजनिक रुपमा उपलब्ध हुन अझै दश वर्ष लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
जिका भाइरसविरुद्धको खोपका विषयमा अनुसन्धानरत अमेरिकी वैज्ञानिकले खोप बनाएर सार्वजनिक प्रयोगमा ल्याउन अझै एक दशक लाग्न सक्ने बताएका हुन् ।
यस भाइरसले गर्भमा रहेको शिशुका मस्तिष्कमा नकारात्मक असर पार्ने गर्दछ । यसबाट मस्तिष्कको पूर्ण विकास नभएको शिशु जन्मिने तथा मृत्यु नै हुन सक्ने खतरा रहन्छ ।
अमेरिकी तथा क्यारवियन क्षेत्रका २१ भन्दा बढी देशमा यस भाइरसको संक्रमण फैलिसकेको छ । ब्राजिलमा यसले महामारीको रुप लिएको छ ।
जिका भाइरसविरुद्धको खोपको विषयमा अनुसन्धान गरिरहेका अमेरिकाको टेक्सास विश्व विद्यालयका वैज्ञानिकले ब्राजिलको प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
परीक्षणका लागि खोप तयार गर्नै दुई वर्ष लाग्ने जनाइएको छ । सार्वजनिक प्रयोगमा ल्याउन त अरु दब वर्ष लाग्ने उनीहरुको भनाइ छ । एडिस ईजिप्टाई प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने यस भाइरसको महामारी गत वर्षको मेदेखि ब्राजिलमा तीव्र रुपमा फैलिरहेको छ ।
अनुसन्धानकर्ताले अरु माध्यमबाट पनि यो भाइरस सर्ने सम्भावना रहेको बताएका छन् । हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने रोगका लक्षण हुन् ।
कोलम्बिया, ईक्वेडर, एल साल्भाडोर र जमैकाले भाइरसबारे थप जानकारी नआउन्जेल गर्भवती नहुन गत हप्ता आम जनतामा अपील गरेका थिए । विश्व स्वास्थ्य संगठनको एडिस ईजिप्टाई लामखुट्टे पाइने सबै देशमा रोग फैलन सक्ने तर्फ सचेत गराएको छ । (एजेन्सी)