सिरियाबारे स्वीट्जरल्याण्डको जेनेभामा हुने शान्ति वार्ता

सिरियाबारे स्वीट्जरल्याण्डको जेनेभामा हुने शान्ति वार्तामा त्यहाँको प्रमुख विपक्षी समूह सहभागी हुने भएको छ ।
वार्ताका लागि सरकारी सेनाले गर्दै आएको हवाई आक्रमण रोकिनु पर्ने शर्त राख्दै आएको साउदी अरेबिया समर्थित विपक्षीको उच्च स्तरीय वार्ता कमिटीले जेनेभा वार्तामा भाग लिने जनाएको हो ।
सिरियाको सरकारी वार्ता समितिसँग भने संयुक्त राष्ट्रसंघका पदाधिकारीले स्वीस शहरमा भेटवार्ता गरिसकेका छन् । सिरियाको शान्ति वार्ताका लागि खटिएका राष्ट्रसंघीय दूत स्टाफेन डी मिस्टुराले सिरियाली सरकारी अधिकारीसँग छलफल गरेका हुन् ।
सिरियामा पाँच वर्षदेखिको गृहयुद्धमा परी दुई लाख ५० हजारभन्दा बढी मानिस मारिइसकेका छन् । करोडौंको संख्यामा पीडितहरु विस्थापित भएका छ ।
 सिरियामा राष्ट्रपति बसर अल असदका समर्थक र बिरोधीबीच संघर्ष हुँदै आएको छ भने अतिवादी इस्लामिक समूह आईएसले पनि हिंसात्मक गतिविधि गर्दै आएको छ ।
जेनेभामा हुने वार्तामा सरकारी र विपक्षी समूहका वार्ता टोली छुट्टा छुट्टै कोठामा बस्ने र ती समूहको बिचमा राष्ट्रसंघीय टोली बसेर वार्तालाई सहजीकरण गर्ने तयारी छ ।
विपक्षी समूहले आफ्ना ३० देखि ३५ जना पदाधिकारी जेनेभा पठाउने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले पनि हिजो एचएनसीका प्रतिनिधिलाई टेलिफोन गरी वार्तामा सहभागी हुन आग्रह गरेका थिए । (एजेन्सी)