सिरियाको मुख्य विपक्षी समुह शान्ति वार्ताका लागि जेनेभा पुगेको छ । संयुक्त राष्ट्रसंघको अगुवाइमा हुने वार्तामा नबस्ने धम्की दिएको दोस्रो दिन नै साउदी समर्थनको विपक्षी समुहका नेताहरु जेनेभा पुगेका हुन् ।
तर सिरियाली सरकारसँगको वार्ता अघि हवाई आक्रमण र नाकाबन्दी अन्त्य गर्नुपर्ने मागमा भने उनीहरु अडिग नै छन् ।
यता राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियाको हितका लागि आफ्नो स्वार्थभन्दा माथि उठ्न सबैसँग आग्रह गरेका छन् । वार्तामा दीर्घकालीन युद्धविराम, मानवीय सहायता सुचारु गर्ने, आईएसको चुनौती कम गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
सिरियामा राष्ट्रपति बशर अल असादको शासनविरुद्ध पाँच वर्ष यताको संघर्षका क्रममा २ लाख ५० हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने लाखौं मानिस विस्थापित भएका छन् । (एजेन्सी)