मेरी आमा (गज़ल )

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
चाँदनी झैं थियौ मेरी आमा
माधवी झैं थियौ मेरी आमा ll १ ll
दर्द सारा हर्यौ माया गर्दै
औषधी झैं थियौ मेरी आमा ll २ ll
रोजरोजै तिमी दिन्थ्यौ ज्ञान 
भारती झैं थियौ मेरी आमा  ll ३ ll
व्यस्तताले सतायो रातोदिन 
पौरखी झैं थियौ मेरी आमा ll ४ ll
कष्ट खप्थ्यौ सधैँ धर्ती बन्दै 
सारथी झैं थियौ मेरी आमा ll ५ ll
बात हुन्थे मिठा पीयूष भुल्ने 
मालश्री झैं थियौ मेरी आमा ll ६ ll
स्वच्छतामै बित्यो सारा जीवन
सादगी झैं थियौ मेरी आमा ll ७ ll
स्नेह वर्षा गर्यौ पीडा हर्दै 
निर्झरी झैं थियौ मेरी आमा ll ८ ll
छैन कोही तिमी जस्तै सुन्दर 
उर्वशी झैं थियौ मेरी आमा ll ९ ll
दिन्छु श्रद्धाञ्जली सम्झी धेरै 
तापसी झैं थियौ मेरी आमा ll १० ll
बहरे रमल -३
(फ़ाइलातुन् + मफ़ाइलुन् + फेलुन् )