दुई अमेरिकी पूर्व राष्ट्रपतिका पारिवारिक सदस्य जेब बुश अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिए

 दुई अमेरिकी पूर्व राष्ट्रपतिका पारिवारिक सदस्य जेब बुश अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिएका छन् ।
जेब बुश पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच बुशका छोरा हुन् भने अर्का पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशका भाई हुन् ।
उनी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको दौडमा थिए । शनिबार साउथ क्यारोलिनाको प्रारम्भिक निर्वाचनमा निराशाजनक परिणाम आएपछि उनले आफ्नो चुनावी अभियान अन्त्य गरेका हुन् । योसँगै बुश परिवारबाट तेस्रो सदस्य अमेरिकी राष्ट्रपति बन्ने सपना पनि अधुरै रहेको छ ।
जेब बुशले भने, मलाई आफ्नो चुनाव अभियानमा गर्व छ, मैले देशलाई एकजुट बनाउने काम गरेँ । उनले राष्ट्रपति कुनै एक व्यक्ति वा एक उम्मेदवारभन्दा ठूलो विषय भएको पनि बताए । उनले भने, अमेरिकीहरुले कुनै एक व्यक्तिको भन्दा पनि राष्ट्रपति भवनमाथि विश्वास गर्नुपर्छ, यो कार्यालयमा बस्ने व्यक्ति जनताको सेवक हुन्छ ।
फ्लोरिडाका पूर्व गभर्नर रहेको उनले आफ्नो प्रतिद्वन्द्वी डोलान्ड ट्रम्पमाथि विचारको कमी भएको नेता भनि टिप्पणी गरेका थिए । (एजेन्सी)